काठमाडौं – पोर्चुगलमा कार्यरत चर्चित सेलिब्रिटी शेफ टंक सापकोटाले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका लागि ५१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
सापकोटा परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ११ हजार १ सय ५१ रुपैयाँ सहयोग प्रदान गरेको हो। उक्त रकम करिब २९ हजार युरो बराबर रहेको जनाइएको छ।
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको सापकोटाले बताएका छन्। विपद्को कठिन घडीमा मातृभूमि र पीडित समुदायसँग आफूले जीवनबाट प्राप्त गरेको केही अंश बाँड्न पाउनु कर्तव्यसँगै मानवता, कृतज्ञता र आत्मसम्मानको विषय भएको उनको भनाइ छ।
सापकोटाले पोर्चुगिज नागरिकहरूले आफू, आफ्नो परिवार, रेस्टुरेन्ट तथा व्यवसायप्रति वर्षौंदेखि देखाउँदै आएको माया, विश्वास र सद्भावप्रति आभार व्यक्त गरेका छन्। साथै, आफ्नो व्यावसायिक यात्रासँग जोडिएका ग्राहक, मित्र, शुभेच्छुक तथा विश्वभरिका सहयोगीप्रति पनि उनले धन्यवाद दिएका छन्।
पछिल्लो प्राकृतिक विपद्ले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको प्रभावबारे गम्भीर प्रश्न उठाएको सापकोटाले बताएका छन्। जलवायु परिवर्तनमा न्यून योगदान गरेका निर्दोष मानिस तथा समुदायहरू नै यसको ठूलो मारमा परिरहेको उनको भनाइ छ।
नेपालमा जन्मिएर विगत ३० वर्षदेखि पोर्चुगलमा बस्दै आएका सापकोटाले मातृभूमिमा आएको विपत्तिप्रति आफू उदासीन रहन नसक्ने बताएका छन्। उनले नेपालसँग आफ्नो जरा, पहिचान र भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै विपद्बाट प्रभावित नागरिकको पीडाले आफूलाई दुःखी बनाएको बताएका छन्।
पोर्चुगलमा आफ्नो व्यावसायिक यात्राका क्रममा सापकोटाले खानालाई विभिन्न सामाजिक अभियानसँग जोड्दै आएका छन्। आफ्ना रेस्टुरेन्ट तथा सार्वजनिक पहिचानमार्फत सामाजिक उद्देश्यका लागि समुदाय परिचालन गर्दै आएका उनले यसपटक पनि मानवीय सहयोग र एकताको सन्देश दिएका छन्।
यस मानवीय सहयोगमा साथ र सद्भाव प्रदान गरेकोमा सापकोटा परिवारले पोर्चुगलस्थित नेपाली राजदूतावासप्रति समेत आभार व्यक्त गरेको छ।
































































