काठमाडौं- राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा गएको विनाशकारी बाढीबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय क्षतिपूर्ति र जलवायु वित्त उपलब्ध गराउन माग गर्दै संयुक्त राष्ट्रसंघमा पत्राचार गरेका छन्।
सांसद कर्णले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र क्षति तथा हानि कोष समक्ष औपचारिक पत्र पठाउँदै बाढीपछिको उद्धार, राहत तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका हुन्।
उनले नेपालजस्ता जलवायु परिवर्तनको प्रभावबाट बढी प्रभावित मुलुकलाई ऋणरहित तथा अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्ने माग गरेका छन्। साथै, हिमाली क्षेत्रमा प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अध्ययन र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
कर्णले क्षति तथा हानि कोषले नेपालका सम्बन्धित सरकारी निकायसँग समन्वय गरी अनुदानमा आधारित क्षतिपूर्ति सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका छन्।
भोटेकोशी–त्रिशूली बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने गम्भीर रूपमा भोग्नुपरेको बताएका छन्। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई राहत, पुनर्निर्माण र दीर्घकालीन जलवायु अनुकूलनका लागि ठोस सहयोग गर्नुपर्ने उनको माग छ।
































































