काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध भएपछि राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ।
सडक अवरुद्ध हुँदा खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समस्या भएको छ। विशेषगरी खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित हुँदा अभाव झनै बढेको छ।
ग्यास पाउन उपभोक्ताहरूले घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ। काठमाडौं उपत्यकाका सिफल, कलंकी, बालाजुलगायत स्थानमा उपभोक्ताहरू टोकन लिएर रातभरसमेत लाइनमा बसिरहेका छन्।
बाढीपहिरोका कारण सडक यातायात प्रभावित हुँदा ग्याससहित दैनिक उपभोग्य वस्तुको ढुवानीमा थप समस्या देखिएको हो। लामो समयसम्म राजमार्ग अवरुद्ध रहे आपूर्ति प्रणालीमा थप दबाब पर्न सक्ने भन्दै उपभोक्ताले तत्काल वैकल्पिक मार्ग तथा आपूर्ति व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने कामलाई तीव्रता दिनुका साथै ग्यास तथा खाद्यान्नको वैकल्पिक माध्यमबाट आपूर्ति व्यवस्था मिलाउनुपर्ने देखिएको छ।
































































