काठमाडौँ– पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मासु र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएको छ ।


ADVERTISEMENT


जलाउन राखिएको शवबाट एक टुक्रा हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ हुनेमा घाटे गणेश ढकाल र अर्का दाउरा उठाउने व्यक्ति रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, पक्राउमध्ये घाटे व्यक्तिले काभ्रेको बनेपा– ९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिएको देखेपछि शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए ।

घाटे गणेशले मृतक शाहीको शवबाट मासु झिकेर जोगीजस्तो देखिने व्यक्तिलाई पाँच सय रुपैयाँमा विक्री गरेको आरोप शाहीका मलामीले लगाएका छन् । त्यसमध्ये सय रूपैयाँ सहयोगीलाई र चार सय रुपैयाँ ढकाल आफैँले राखेको उनीहरुको आरोप छ ।

तर, उनले आफूले मासु नभएर हड्डी झिकेको स्वीकारे पनि पैसा लिएको कुरा भने इन्कार गरेका छन् । यद्यपि ढकालले अहिलेसम्म कसलाई र किन उक्त मासुको टुक्रा दिएको भन्नेबारे केही नबताएको प्रहरी वृत्त, गौशालाका डीएसपी सुकदेव खनाल बताउँछन् ।

अघोरी बाबालाई बेचेको हुनसक्ने आशंका

ढकालले शवको मासु चोरी गरेर बिक्री गरेको व्यक्ति अघोरी बाबाहरु हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

कतिपय अघोरी बाबा मसान जगाउनका निम्ति मान्छेको हड्डी खेलाउने, रगत पिउने र मासु खाने मान्यता राख्छन् । र, यी सबै जिवित व्यक्तिबाट प्राप्त नहुने भएपछि शवको मासु र हड्डी निकालिएको हुनसक्ने एक प्रहरीको भनाई छ ।

कारवाही प्रकृयामा अन्योल प्रहरी

दहन भइरहेको शवबाट कुनैपनि अंग झिकेर अरुलाई दिने कुरा सामान्य नभएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी चन्द्रकुवेर खापुङ बताउँछन् ।

यद्यपि यस विषयमा कानुनमा कुन विधि र शैलीमा कारवाही गर्ने भन्नेबारे अहिलेसम्म त्यस्तो कुनै योजना नबनेकाले कुन अभियोगमार्फत उनीहरु विरुद्व कारवाही प्रकृया अघि बढाउने भन्ने विषयमा अन्योल रहेको उनको भनाई छ ।

सोही कानुन स्पष्ट नभएकै कारण पक्राउ पर्नेहरु विरुद्व मलामीले अभद्र व्यवहारको कसुरमा जाहेरी दिएका छन्।