काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिटै राजनीतिक दल खोल्ने बताएका छन् ।
सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजनीतिक दलहरुले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन राजनीतिक दल खोल्न लागेको बताएका हुन् ।
उनले भने, ‘मुलुक र मुलुकवासीको अवस्था परिवर्तनका लागि राष्ट्रियता, स्वाभिमान, स्थिरता, रोजगारी सुशासन, राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिकको रक्षाका लागि म लगायत हाम्रो अभियानका साथीहरुले राजनीतिक दल खोली राजनीतिमा संलग्न हुने अठोट गरेका छौँ ।’
देशको अवस्था परिवर्तनका लागि राष्ट्रिय र स्वाभिमान सहितको पार्टी छिटै घोषणा हुने उनले जानकारी दिए । प्रसाईंले वर्तमान शासन प्रणाली अन्तर्गत नै राजनीतिक शक्ति निर्माणका लागि दल खोल्ने निर्णयमा पुगिएको जिकिर गरे ।
साथै उनले राजतन्त्र पुनस्र्थापनाका लागि पूर्वराजा आफै अघि सनुपर्ने बताए । ‘भगवान रामचन्द्र पनि सीता लिन जाँदा आफैँ जानुभएको थियो, राजाको भूमिका कस्तो रहन्छ, त्यसमा भर पर्छ । मैले यहाँसम्म गरेँ ।’ उनले भने, ‘हामीले पहल गर्यौं । अब राजाको भूमिका कस्तो हुन्छ, राजामै नै छोड्ने कुरा हुन्छ । उहाँले के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो ।’
उनले अब राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिकको रक्षाका केन्द्रित हुने उल्लेख गरे ।


























































