काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपिल गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले गरिरहको असन्तुष्टिका बारेमा सहमति खोज्न आफु प्रयत्नशील रहेको भन्दै संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन दलहरुलाई अपिल गरेका हुन् ।
सदन सुचारू बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकोप्रति उहाले चिन्ता व्यक्त गरे । सभामुख घिमिरेले बैठक सुरू हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीनरूपमा हानिकारक सावित हुनसक्ने भएकाले सबै सचेत रहनु आवश्यक रहेको उल्लेख गरे । उनले संसद केवल असहमति अभिव्यक्त गर्ने स्थलमात्र नभइ राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि भएको बताए ।
सभामुख घिमिरेले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि संघीयतासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रियामा गम्भीर र रचनात्मक बहस अपरिहार्य रहेकाले बैठक बहिष्कार नगरि सहभागी हुन आग्रह समेत गरे ।



























































