काठमाडौँ – नेपालको नवनियुक्त प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । नवनियुक्त प्रधानमन्त्री कार्कीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ खुवाएका हुन् ।
यसअघि उनले मुलुकमा उत्पन्न विषम् परिस्थितिको कारण देखाउँदै नेपालको संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । कार्कीले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा इतिहास बनाएकी छन् । उनी नेपालको ४२औँ प्रधानमन्त्री बनेकी हुन् ।
कार्की नेतृत्वको सरकारको पहिलो काम अब ६ महिनाभित्र निर्वाचन गरी नयाँ जनादेश अनुसारको नयाँ सरकार देशलाई दिनु हुनेछ । त्यसअघि उनले पहिलो बैठकमार्फत प्रतिनिधिसभा विघटन गर्नेछिन् ।
भाग्यमानी कार्कीले यसअघि पहिलो महिला प्रधान न्यायाधीशको इतिहास समेत आफ्नै नाममा लेखाएकी थिइन् ।
काठमाडौँसहित देशभर भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनपश्चान प्रधानमन्त्री केपी शर्माओलीले राजीनामा दिएपछि संवैधानिक संकट पैदा भएको थियो । त्यसक्रममा शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले काठमाडौँसहित देशभर निषेधाज्ञा तथा कर्फ्यू लगाइरहेको छ ।
तस्बिर : रासस



























































