काठमाडौं- एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका–स्थित श्री जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ।
असार १२ गते आयोजित कार्यक्रममा बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेर्चनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा तथा प्रधानाध्यापक दीपक शर्मालाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन्।
विद्यालयका विद्यार्थीहरूको पठनपाठन तथा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले झोला, कापी, पेन्सिल, कलमलगायत शैक्षिक सामग्री तथा फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सटपुट बल र जेभलिन थ्रोका सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैंकले उक्त सहयोगले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न तथा विद्यार्थीहरूको अध्ययनसँगै खेलकुद गतिविधिमा पनि सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।



























































