काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा बीमित सम्पत्तिहरूमा भएको क्षतिको झण्डै २२ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गरिसकेको छ।
कम्पनीका अनुसार हालसम्म प्राप्त भएका २८७ वटा दाबीहरूमध्ये २४५ वटा दाबीहरूसम्बन्धी क्षतिपूर्तिको रूपमा २१ करोड ७४ लाख ४५ हजार ८ सय ३१ रुपैयाँ भुक्तानी गरिसकिएको हो।
उक्त रकम अग्रिम र अन्तिम दाबी भुक्तानी दुवै समेटिएको कम्पनीले स्पष्ट पारेको छ। दाबी भुक्तानी प्रक्रिया सरल, पारदर्शी र नियामकीय प्रावधानभित्र रही अघि बढाइएको विभाग प्रमुख रोज राज लुइटेलले बताए ।
कम्पनीले भनी सकेका दावीहरूको भुक्तानी कार्य असोज २१ गते, मंगलबारदेखि पुनः तीव्र गतिमा अघि बढ्ने जनाएको छ। हिमालयन एभरेस्टले विषम परिस्थितिमा बीमितलाई यथाशीघ्र राहत पुर्याउने उद्देश्यले यो कार्यलाई उच्च प्राथमिकता दिएको जनाएको छ।
कम्पनीले अझै दाबी प्रक्रिया नसकिएका बीमित ग्राहकहरूलाई आवश्यक कागजातसहित आफ्नो नजिकको शाखा कार्यालय वा केन्द्रीय कार्यालयमा शीघ्र सम्पर्क गर्न अनुरोधसमेत गरेको छ।
कम्पनीले जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।



























































