काठमाडौँ – सरकारले काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको बाँकीरहेको निर्माण कार्यका लागि बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।


ADVERTISEMENT


सरकारले त्रिवि क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना निर्धारण गर्ने निर्णय भएको छ । सोही अनुसार गुरुयोजनाका बाँकी रहेका काम सम्पन्न गर्नका लागि बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाउने स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।


ADVERTISEMENT

# # #


यसअघि केपी ओली नेतृत्वको सरकारले कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशालामा परिणात गर्ने निर्णय गरेको थियो । सोही अनुसार गुरुयोजना अन्तर्गत पहिलो चरणको काम हाल अन्तिम चरणमा पुगेको छ ।

हालसम्म रंगशालामा करिब ८ हजार सिटसहितको प्याराफिट निर्माण भइसकेको छ भने रात्रीकालीन खेलका लागि फ्लड लाइट जडान हुने क्रममा रहेको छ । कीर्तिपुर क्रिकेट मैदानलाई २० हजार बढी क्षमताको अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न रंगशाला बनाउने सरकारको योजना रहेको छ ।