काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले छिटो भन्दा छिटो पार्टीको नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले पार्टीको पन्ध्रौँ महाधिवेशन तयारी सम्बन्धमा नेतृत्व गम्भीर हुनुपर्ने र छिटो भन्दा छिटो पार्टीको नियमित महाधिवेशन हुनुपर्ने सुझाव दिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले महाधिवेशन कार्यतालिकाका विषयमा बैठकमा कुनै प्रस्ताव नआएको भन्दै सदस्यको सुझावका आधारमा बैठकले उचित निर्णय लिने बताए । त्यस्तै नेताहरुले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविन हुनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने, निर्वाचनको तयारीका लागि सरकारले ध्यान दिनुपर्ने लगायतका धारणा राखेको प्रवक्ता महतले बताए ।

बैठकमा डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा राखेका थिए भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए ।

बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता महतले जानकारी दिए ।