काठमाडौं – नेपाली कांग्रेसका नेता एवं १५ औं महाधिवेशनका लागि महामन्त्रीका उम्मेदवार नैनसिंह महरले मुलुकको वर्तमान संवैधानिक संकटको एकमात्र निकास फागुन २१ गतेको निर्वाचन नै भएको र यसै निर्वाचनमा डायस्पोराले मतदान गर्ने बन्दोबस्त मिलाउन आवश्यक भएको बताएका छन्।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा आयोजित वेविनारमा बोल्दै नेता महरले डायस्पोराको ‘नोट चल्ने तर भोट नचल्ने’ विरोधाभासपूर्ण अवस्थाको अन्त्य गर्दै आगामी निर्वाचनमै मताधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका हुन्।
संसारभर रहेका आप्रवासी हकहित संरक्षणका अभियन्ता र गैरआवासीय नेपाली नेताहरूसँगको विमर्शका क्रममा महरले राजनीतिक अन्योलतातर्फ इङ्गित गर्दै भने, “अहिले मुलुकमा देखिएको संवैधानिक संकटको एकमात्रै समाधान फाल्गुन २१ गतेको निर्वाचन नै हो। तसर्थ, यो निर्वाचनको वातावरण निर्माण गर्न सरकार र सबै राजनीतिक दल इमान्दार भएर लाग्नुपर्छ।”
नेता महरले विदेशमा बस्ने नेपालीको पसिनाले देशको अर्थतन्त्र धानिएको यथार्थ सम्झाउँदै उनीहरूको राजनीतिक अधिकार कुण्ठित हुन नहुने बताए। “विदेशमा रहेका नेपालीको नोट चल्ने, तर भोट नचल्ने अवस्था अन्त्य गर्दै मताधिकार सुनिश्चित गरिनुपर्छ,” महरले भने, “सरकारले फाल्गुन २१ कै निर्वाचनमा यस्तो व्यवस्था गर्न इमान्दार प्रयत्न गरोस्।”
नेपालको आप्रवासन अवस्थाबारे चर्चा गर्दै महरले गरिबी, बेरोजगारी, राजनीतिक अस्थिरता र जलवायु परिवर्तनका कारण नेपालीहरू विदेशिन बाध्य भएको बताए। उनले तथ्यांक प्रस्तुत गर्दै भने, “डिपार्टमेन्ट अफ फरेन एम्प्लोयमेन्टका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम अनुमति लिनुले आप्रवासनको व्यापकता देखाउँछ। यो तथ्यांक सामान्य होइन।”
महरले सन् १९९० मा संयुक्त राष्ट्र सङ्घले पारित गरेको आप्रवासी कामदारको अधिकारसम्बन्धी महासन्धिको स्मरण गर्दै नेपालजस्तो श्रम निर्यातमुखी देशका लागि यसको महत्त्व गहिरो रहेको बताए।
‘श्रमिकका पीडा र राज्यको दायित्व’बिषयक वेविनार छलफलका क्रममा महरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोगिरहेका समस्याहरूबारे पनि खुलस्त पारे। उनले भने, “धेरै नेपाली कामदार असुरक्षित कार्यस्थल, न्यून पारिश्रमिक र श्रम शोषणको शिकार भएका छन्। कानुनी अज्ञानता र भाषाको समस्याले उनीहरूको अवस्था जटिल छ।”
लाखौं नेपालीको पसिना र परिश्रमले देशको अर्थतन्त्र चलेको भन्दै महरले उनीहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्नु नै अन्तर्राष्ट्रिय आप्रवासी दिवसको मूल मर्म हुनुपर्नेमा जोड दिए।



























































