मकवानपुर — बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा निर्माण गरिएको चित्लाङ भ्यु टावर उद्घाटन गरी थाहा नगरपालिकालाई हस्तान्तरण गरिएको छ।


ADVERTISEMENT


थाहा नगरपालिका–९, चित्लाङमा आयोजित कार्यक्रममा माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो।


ADVERTISEMENT

# # #


समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले चित्लाङ क्षेत्र पर्यटन, वातावरण र प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यस क्षेत्रलाई पर्यटनको दृष्टिकोणले विकास गर्न प्रदेश सरकारले निरन्तर लगानी गरिरहेको बताए। उनले पर्यटन विकासका लागि सबैभन्दा पहिला पूर्वाधार विकास अपरिहार्य रहेको स्पष्ट पारे।

“पर्यटन विकासको पूर्वाधार नै विकास हो,” मुख्यमन्त्री बानियाँले भने, “पर्यटकीय क्षेत्र बनाउन आवश्यक संरचना, पहुँच र व्यवस्थापन बिना सम्भव हुँदैन। त्यसैले प्रदेश सरकारले यस क्षेत्रमा लगानी गरेको हो।”

मुख्यमन्त्री बानियाँले चन्द्रागिरीसम्मको पहुँच सहज भएको उल्लेख गर्दै अब चित्लाङसम्म आउने पर्यटकलाई लक्षित गरी निर्माण भएका संरचनाको तत्काल व्यवस्थापन गर्न आग्रह गरे। साथै, पर्यटनसँग जोडिएका संरचनाको प्रभावकारिता मूल्यांकन गरी व्यावहारिक व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।

संविधानले तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको व्यवस्था गरेको स्मरण गराउँदै मुख्यमन्त्री बानियाँले केन्द्र, प्रदेश र स्थानीय सरकार सबै जनताका प्रतिनिधि भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले थाहा नगरपालिकामा संरचना निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गर्दै आवश्यक परेमा प्रदेश सरकारले थप लगानी गर्न पनि तयार रहेको बताए।

मुख्यमन्त्री बानियाँले थाहा नगरपालिका राजनीतिक चेतना, सामाजिक जागरण र गरिब, दुःखी तथा असहायको पक्षमा उभिने पहिचान बोकेको क्षेत्र भएको उल्लेख गरे। उनले यस क्षेत्रलाई बागमती प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य का रूपमा विकास गरिने बताए।

आगामी वर्ष दामन, टिस्टुङ र पालुङ क्षेत्रलाई विशेष रूपमा पर्यटन र प्रकृतिसँग जोडेर व्यवसायिक रूपमा प्रवर्द्धन गर्न संस्कृति तथा पर्यटन मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रदेश सरकारको लगानी नीतिबारे बोल्दै मुख्यमन्त्री बानियाँले सहकार्यमा आधारित मोडेल अवलम्बन गरिएको बताए। “पर्यटन क्षेत्रमा स्थानीय तह वा निजी क्षेत्रले ३० प्रतिशत लगानी गरे प्रदेश सरकारले ७० प्रतिशतसम्म लगानी गर्न तयार छ,” उनले भने, “यदि तपाईंहरूले तीन करोड लगानी गर्नुभयो भने प्रदेश सरकारले सात करोडसम्म लगानी गर्नेछ।”

मुख्यमन्त्री बानियाँले पर्यटन क्षेत्रको विकास सबैका लागि आवश्यक रहेको उल्लेख गर्दै विकासका विषयमा राजनीति नगर्न आग्रह गरे। “चुनावको समयमा फरक मत हुन सक्छ, तर विकासमा विग्रह, अवरोध र राजनीति गर्नु हुँदैन,” उनले भने।

कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले पनि चित्लाङ क्षेत्रको पर्यटन सम्भावना उजागर गर्दै प्रदेश सरकारले पर्यटन पूर्वाधार र प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताए।

चित्लाङ भ्यु टावर उद्घाटनसँगै यस क्षेत्रको पर्यटन गतिविधि थप विस्तार हुने अपेक्षा गरिएको छ।