पोखरा – पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा २१ औं संस्करणको ‘फेवा नव वर्ष महोत्सव २०८३’ आइतबारदेखि सुरु भएको छ ।
सांस्कृतिक झाँकी र बाजागाजाका साथ सुरु भएको यस महोत्सवको कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अम्बोटमा आयोजित विशेष समारोहमा उद्घाटन गरेकी हुन् । सहिदचोक र खहरे बीचको सडकमा वैशाख १ गते रातिसम्म चल्ने महोत्सव होटल संघ पोखरा नेपालले आयोजना गरेको हो ।
महोत्सव अवधिभर सडकमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सहभागी होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् ।
महोत्सव उद्घाटनका क्रममा सातै प्रदेशका सांस्कृतिक नृत्य र तरेली सांस्कृतिक परिवारको स्वागत नाच प्रस्तुत गरिएको थियो ।
महोत्सवको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले फेवा महोत्सवको निरन्तरता नै यसको सफलता भएको बताइन । पोखरालाई पर्यटनको राजधानीका रूपमा चिनिनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले ‘महोत्सवमा प्रस्तुत कलात्मक झाँकीले नेपालीहरू बीचको एकता झल्काएको हुँदा पोखरालाई सुरक्षित र सुन्दर सहरका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन ।
कार्यक्रममा होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीण बहादुर पाण्डेले पोखराले अब आन्तरिकसँगै भारतीय र चिनियाँ पर्यटक प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए । महोत्सवलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशले प्रवद्र्धन गरेका छन् ।


























































