काठमाडौँ – सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेको छ । काठमाडौँ जिल्ला अदालतले दिएको म्याद नाघिसकेको अवस्थामा खड्कालाई न त रिहा गरिएको छ, न त पुनः म्याद थप गराइएको छ ।


ADVERTISEMENT


नेपालको संविधानको धारा २० र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ अनुसार कुनै पनि व्यक्तिलाई अदालतको आदेश बाहेक गैरकानुनी थुनामा राख्न पाइँदैन । तर, खड्कालाई भने म्याद सकिसकेको अवस्थामा समेत थुनामा राखेको भन्दै उनका कानुन व्यवसायीले आपत्ति जनाएका छन् ।


ADVERTISEMENT

# # #


गत चैत्र १५ गते पक्राउ परेका खड्कालाई सोही दिन अदालतमा उपस्थित गराइएको थियो । अदालतले एक हप्तानको म्याद दिएको थियो । तर, २१ गते शनिबार भएकाले उनलाई २२ गते अदालतमा उपस्थित गराइयो । अदालतले पुनः एक हप्ताको म्याद थप गरेको थियो ।

सोही अनुसार उनी २८ गतेसम्मका लागि थुनामा रहन सक्थे । खड्काकी एक कानुन व्यवसायीले भनिन्, ‘तर, आजदेखि उहाँ गैरकानुनी थुनामा हुनुहुन्छ । हिजो बिदा भएकाले आज उहाँलाई भौतिक रुपमा वा भर्चुअल्ली अदालतमा उपस्थित गराउनु पथ्र्यो । अदालतले म्याद थप्नुपर्ने भए थप्थ्यो ।’

अदालतले थुनामा राख्नका लागि दिएको समय सीमा समेत नाघिसकेको अवस्थामा अदालतबाट पुनः अनुमति नलिएरै खड्कालाई थुनामा राखेको भन्दै खड्काका कानुन व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

भोलि सार्वजनिक बिदा भएकाले खड्कालाई अब वैशाख २ गते मात्रै अदालतमा उपस्थित गराउने सम्भावना छ । यसरी राज्यले नै कुनै व्यक्तिलाई अदालतको आदेश बिना नै थुनामा राख्नु गैरकानुनी विषय भएको उनीहरुको भनाई छ ।