काठमाडौं – व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
मंगलबार सर्वोच्च अदालतका माननीय न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको हो । गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षीहरूको नाममा आदेश दिएको हो ।
गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार मात्रै काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी गोल्छालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


























































