काठमाडौं- अर्थमन्त्री डा .स्वर्णीम वाग्लेले सुशासनको निर्मम एजेण्डा बोकेर अघि बढेको सरकारले जनतालाई धोका दिन नसक्ने स्पष्ट पारेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री वाग्लेले आफुलाई केहिले व्यापारी पोस्यो भन्ने आरोप लगाएको भन्दै सुशासनको कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामा धोका दिन नसक्ने बताएका छन्। उनले सांसदहरुले आफ्नो गरिमा आफै राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
आफुले दुई रुपैयामात्रै बदमासी भएको पुष्टि भए सार्वजनिक जीवन नै त्याग्न तयार रहेको भन्दै उनले यो नैतिक आँट आफुमाथि प्रश्न उठाउने सांसदहरुलाई पनि प्राप्त होस भन्दै जवाफ दिएका छन् । आफुमाथि प्रश्न उठाउनेहरुका काण्डबारे अनभिज्ञ नरहेको उल्लेख गर्दै मन्त्री वाग्लेले सवै काण्डमाथि छानविन हुने धारणा राखेका छन् ।
त्यस्तै मन्त्री वाग्लेले बजेटमा सामाजिक सुरक्षाका विद्यमान कार्यक्रमहरू एउटा पनि नकाटेको बताएका छन् । अनुशासनमा बाँधिएर आर्थिक गतिविधिलाई गति दिने उदेश्यका साथ आगामी आर्थिक बर्षको बजेट ल्याइएको उनले बताएका छन् ।
उनले निजी लगानी सुस्त रहेको र अर्थतन्त्र मन्दीको अवस्थाबाट गुज्रिरहेको वर्तमान परिस्थितिमा माग पुनर्जीवित गर्ने कार्यक्रम ल्याउनु अपरिहार्य रहेकाले यसलाई केवल मध्यम वर्गमुखी वा सहरी वर्गमुखी भनेर व्याख्या गर्नु यथार्थपरक नहुने धारणा राखेका छन् ।


























































