चितवन -राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को पहिलो महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनलाई लिएर देशभरका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह आइतबार बिहान परिवारसहित चितवन पुगेका छन्। रास्वपाका वरिष्ठ नेतासमेत रहेका शाहको आगमनसँगै महाधिवेशनको माहोल थप उत्साहपूर्ण बनेको छ। पार्टीका शीर्ष नेताहरू, केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका प्रतिनिधिहरू पनि चितवनमा जुटिरहेका छन्।
यसैबीच, निरन्तर वर्षाका कारण महाधिवेशन स्थल आसपासको क्षेत्रमा पानी जमेको र केही भाग डुबानमा परेपछि तयारीलाई थप व्यवस्थित बनाउन आइतबार बिहान गृहमन्त्री सुदन गुरुङले कार्यक्रम स्थलको स्थलगत अनुगमन गरेका थिए। अनुगमनका क्रममा उनले आयोजक टोली तथा सुरक्षा निकायसँग छलफल गर्दै कार्यक्रम सञ्चालनमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रमा पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन विस्तार, सुशासन, आर्थिक समृद्धि तथा जनअपेक्षालाई सम्बोधन गर्ने विषयमा विशेष छलफल हुने जनाइएको छ।
महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, व्यवसायी, बुद्धिजीवी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहनेछ। पार्टीले यस महाधिवेशनलाई आफ्नो संगठनात्मक सुदृढीकरण, नीति निर्माण तथा आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
रास्वपाको स्थापना पछि पहिलो पटक आयोजना गरिएको यस महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठन संरचना तथा राजनीतिक मार्गचित्र तय गर्ने भएकाले यसप्रति राजनीतिक वृत्तमा समेत चासो बढेको छ। चितवनमा जारी महाधिवेशनलाई रास्वपाको आगामी यात्राको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।



























































