चितवन – गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन आयोजना स्थलको स्थलगत अनुगमन गरेका छन्।


ADVERTISEMENT


गएरातिको अविरल वर्षाका कारण महाधिवेशन स्थलमा पानी जमेर समस्या उत्पन्न भएपछि गृहमन्त्री गुरुङ स्वयं स्थलमा पुगेर व्यवस्थापन अवस्थाबारे जानकारी लिएका हुन्। उनले चितवनका प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रम स्थलमा खटिएका विभिन्न आयोजक टोलीसँग छलफल गर्दै जमेको पानी तत्काल हटाउन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन्।


ADVERTISEMENT

# # #


अविरल वर्षाका कारण महाधिवेशन स्थल जलमग्न बनेपछि हाल मोटर पम्पको प्रयोग गरी पानी निकाल्ने काम तीव्र रूपमा भइरहेको जनाइएको छ। साथै, प्रभावित क्षेत्रमा माटो भर्ने तथा स्थललाई व्यवस्थित बनाउने कार्यसमेत जारी रहेको छ।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले महाधिवेशन स्थलको सुरक्षा व्यवस्थाबारे पनि जानकारी लिएका थिए। उनले कार्यक्रम सुरक्षित, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई आवश्यक समन्वय र तयारीमा जुट्न आग्रह गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रम आज दिउँसो हुने तय गरिएको छ। उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने तथा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्ने तयारी रहेको बताइएको छ। महाधिवेशनलाई लिएर आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।