चितवन- स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ।
भरतपुरस्थित गेष्टहाउस चौर मा हुने महाधिवेशनका लागि आवश्यक अधिकांश व्यवस्थापकीय तयारी पूरा भएको रास्वपाले जनाएको छ। उद्घाटन समारोहस्थललाई पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह का तस्वीरसहित सजाइएको छ।
रास्वपाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको छ। महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायतका सबैजसो तयारी सकिएको जनाइएको छ।
महाधिवेशनमा ३ हजार ८९८ प्रतिनिधिको सहभागिता रहनेछ। त्यसमध्ये ३०० प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको छ। पार्टीले सदस्य संख्या पाँच लाख पुर्याएको दाबी गरेको छ।
हालसम्म ६१० पालिकामा अधिवेशन सम्पन्न भएको छ भने ४ हजार ६३ वडामा अधिवेशन गरिएको छ। त्यसैगरी ६ प्रदेशका ६४ जिल्लामा अधिवेशन सम्पन्न गरी प्रतिनिधि छनोट भइसकेको छ। मधेश प्रदेश तथा निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाका तदर्थ समितिबाट पनि महाधिवेशनमा प्रतिनिधि सहभागी हुने जनाइएको छ।
प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह महाधिवेशनमा सहभागी हुन आज बिहान चितवन पुग्नुभएको छ। गेष्टहाउस चौरमा हुने उद्घाटन सत्रलाई सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



























































