काठमाडौं- प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक, २०८३ बहुमतले पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले प्रस्तावलाई बहुमतले स्वीकृत गर्दै विधेयक पारित गरेको हो।
यसअघि बैठकमा विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरूमाथि छलफल गरी निर्णयका लागि प्रस्तुत गरिएको थियो। संशोधनमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण अनुसन्धान र नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारले आवश्यक कानुनी सुधार अघि बढाएको बताएका छन्।
मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा मात्र सीमित नरही आर्थिक अपराधसम्बन्धी अनुसन्धानलाई एकीकृत र प्रभावकारी बनाउन ‘आर्थिक अपराध प्राधिकरण’ गठन गर्ने विषयमा समेत सरकार गम्भीर रूपमा छलफलमा रहेको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले एउटै प्रकृतिका आर्थिक अपराधमा फरक–फरक निकायले छुट्टाछुट्टै अनुसन्धान गर्दा राज्यको खर्च बढ्ने, अदालतमा मुद्दाको चाप थपिने तथा बिगो असुली प्रक्रियामा समेत जटिलता उत्पन्न हुने भएकाले त्यसलाई समाधान गर्न आवश्यक कानुनी सुधार गर्न खोजिएको स्पष्ट पारेका छन्।



























































