काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले   नेपाल फुटबल संघ एन्फामा वर्तमान सरकारले कुनै हस्तक्षेप नगरेको बताएका छन्। उनले एन्फाभित्र देखिएका भ्रष्टाचार र अनियमिततासम्बन्धी उजुरीमाथि छानबिन भइरहेको भए पनि त्यसमा सरकारको प्रत्यक्ष हस्तक्षेप नरहेको स्पष्ट पारेका हुन्।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले विगतमा एन्फामा सरकारी हस्तक्षेप हुने गरेको भए पनि वर्तमान सरकारले त्यस्तो अभ्यास नगरेको बताएका छन्। फिफाले एन्फामाथि गरेको निलम्बन सरकारको हस्तक्षेपका कारण नभएको उनको भनाइ छ।


ADVERTISEMENT

# # #


मन्त्री  पोखरेलका अनुसार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन तयार गरिरहेको छ। प्रतिवेदन प्राप्त भएपछि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइनेछ। साथै, एन्फासम्बन्धी विषयमा छलफल गर्न फिफा र एएफसीका पदाधिकारीलाई पनि नेपाल आउन निमन्त्रणा गरिएको जानकारी उनले दिए।

मन्त्री पोखरेलले आगामी दिनमा एन्फामा राजनीतिक नियुक्तिको अभ्यास पूर्ण रूपमा अन्त्य गरिने र संस्थालाई पारदर्शी तथा व्यावसायिक बनाइने बताएका छन्। एन्फाको नेतृत्वमा नेपाली फुटबलमा योगदान दिएका पूर्वखेलाडी, फुटबलको ज्ञान र अनुभव भएका व्यक्तिहरू तथा वास्तविक फुटबलप्रेमीलाई अवसर दिइने मन्त्री  पोखरेलको भनाइ छ।

एन्फाका पदाधिकारीलाई फिफा विश्वकप हेर्न जान सरकारले रोकेको भन्ने आरोपको खण्डन गर्दै मन्त्री पोखरेलले नेपाली फुटबलको विकास र सुधार नै सरकारको प्राथमिकता रहेको स्पष्ट पारेका छन्। उनले विश्वकप हेर्न जानुभन्दा नेपाली फुटबललाई बलियो बनाउने विषयलाई सबैले प्राथमिकता दिनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।