काठमाडौं- बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामाले पार्टीका महामन्त्रीको अपमान गरेको चर्चा बाहिरिएको छ ।
बहादुर लामा समूहको बजेटमा रहेको असन्तुष्टि कारण केन्द्रको सक्रियतामा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको विशेष उपस्थितिमा हेटौंडामा भएको बागमती प्रदेश संसदीय दलको बैठकमा उपस्थित नभएर पूर्व मूख्यमन्त्री एवं पार्टीका सहमहामन्त्री लामाले बजेट असफल पार्ने प्रयास र महामन्त्री घिमिरेको अपमान गरेको चर्चा बाहिरिएको हो ।
बजेटबारे संसदीय दलमा छलफलका लागि विहान ८ बजे बैठक बोलाईएपनि उनी र उनको समूहलाई ११ बजेसम्म महामन्त्री घिमिरे, संसदीय दलका नेता एवं मूख्यमन्त्री बानियाँ र अन्य सांसदहरुले कुरेका थिए । तर लामा आफ्ना पक्षीय भनिएका सांसदहरुलाई समेत हेटौंडामै रहेपनि बैठकमा सहभागी हुन नदिएर अनुपस्थित भएका थिए । स्रोतका अनुसार उनी बजेट पास हुनु अघि देखि नै हेटौंडामा रहेको सिसिटिभी फुटेजहरुले देखाएका छन् ।संसदीय दलको बैठकले बजेट पास गर्न ह्वीप जारी गरेपनि उनीसहित उनी पक्षीय भनिएका १० जना सांसद संसदमा समेत अनुपस्थित भएका थिए ।
पूर्व मूख्यमन्त्री एवं वर्तमान प्रदेशसभा सदस्य बहादुरसिंह लामा, काभ्रेका जिल्ला सभापति र पूर्व मन्त्रीसमेत रहेका तिर्थ लामा, पूर्व मन्त्रीहरु उत्तम जोशी, हरिप्रभा खड्गी, श्याम खड्का, बिमल ठकुरी, सांसदहरु रामकुमार पहाडी, छत्र बम्जन, मिना पराजुली र माया श्रेष्ठ आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारले ल्याएको बजेट फेल गराउने रणनीतिसहित अनुपस्थित भएका थिए। तर उनीहरुको अनुपस्थितिका बाबजुद संसदबाट बजेट पास भएपछि भने उनीहरुले नै संसद सचिवालयमा गएर लफडा गरेका थिए । बजेट पास भएर हाजिरी पुस्तिका बन्द भएपछि उनीहरुले संसद सचिवालयमा हाजिर गर्न पाउनुपर्ने भन्दै लफडा गरेपनि कर्मचारीहरुले हाजिर हुन दिएका थिएनन् ।
पार्टीको कारवाहीबाट बच्ने रणनीति अनुसार हाजिर गर्न खोजेपनि हाजिर गर्न नपाएपछि यसको दोष मूख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई समेत लगाउन भ्याए । तर बजेट पास भएपनि अन्तिममा हाजिर गर्न पाएका थिए ।
गत आर्थिक बर्षको बजेट ल्याउँदा आफु मूख्यमन्त्री रहेका लामा नेतृत्वका अर्थ मन्त्री कुन्दन काफ्लेले बजेटमा मनोमानी गर्न तत्कालिन अर्थ सचिवलाई समेत हातपात गरेको चर्चा अहिलेसम्म पनि सेलाएको छैन । त्यतिखेर बजेटमा एकलौटी गरेपनि यसबारे सांसदहरुले बखेडा गरेका थिएनन् । तर उनले पार्टी भित्र गरेको आन्तरिक सहमति कार्यान्वयन नगरेपछि कांग्रेसका सांसदहरुले स्वस्फुर्त रुपमा उनलाई संसदीय दलको नेताबाट हटाएका थिए । त्यसपछि मूख्यमन्त्रीबाट बाहिरिएका उनले प्रतिशोध साँध्न अहिले बजेट फेल गराउनेदेखि महामन्त्रीको समेत अपमान गर्ने तहसम्म पुगेको सर्वसाधारणको भनाई छ ।
तर वर्तमान मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले त्यतिखेर बहादुरसिंह लामा अर्थमन्त्री र मूख्यमन्त्री हुँदा ल्याएको बजेटमा दलभित्रै असन्तुष्टी भएपनि आफ्ना प्रतिष्पर्धी लामाले ल्याएको बजेटमा कुनै पनि अवरोध र प्रतिशोध नराखी पार्टी नेतृत्वको बजेट पास गराउन सहयोग गरेका थिए ।
बागमती प्रदेशका सभपाति एवं दोस्रो कार्यकालका माननीय भएकाले उनले संसदीय मूल्यमान्यता र मर्यादा अनुसार आफ्नो पार्टी नेतृत्वको बजेटलाई पास गराउन सहयोग गरेका थिए । उनले दलभित्रको असन्तुष्टीलाई मिडियाबाजी समेत गरेका थिएनन् । तर बानियाँको जस्तो इमान्दारिता लामामा नदेखिएको र आफ्नो पार्टी पदाधिकारीको हैसियत लामाले कायम गर्न नसकेको जनजनमा चर्चा छ ।
आफ्नै १० जना सांसदहरु अनुपस्थित भएपनि बजेट पास भएपछि मूख्यमन्त्री बानियाँले सबैलाई धन्यवाद दिंदै संसदमा छलफलबाट प्राप्त पृष्ठपोषणलाई आत्मसात गर्दै बजेट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।
अहिले अर्को चर्चाको विषय भने आफु सहमहामन्त्री भएपनि आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएको बजेट फेल गराउन लाग्ने उनलाई पार्टीले कारवाही गर्छ कि गर्दैन रु भन्ने हो ।
बदलिएको कांग्रेसले देश बनाउने नारा घन्काई रहँदा आफ्नो पदीय मर्यादा उल्लंघन गर्ने सहमहामन्त्रीलाई कारवाही नगरे पुनः यस्ता गाईजात्रा दोहोरिनेतर्फ कांग्रेस नेतृत्व सचेत हुनुपर्ने आवाज उठिरहेको छ । संसदीय दलको बैठकले जारी गरेको तीन लाईन ह्वीपलाई उल्लंघन गरेका उनलाई संसदीय दलले समेत जवाफ माग्नुपर्ने आवाज उठेको छ । बानियाँले भने हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
पार्टीको केन्द्रीय पदाधिकारी तहमा रहेका र पूर्व मूूख्यमन्त्री भईसकेका लामाले गरेको व्यवहारलाई गम्भिरता पूर्व लिनुपर्ने पार्टी भित्र दवाव बढेको छ । सुधारिएको भनिएको कांग्रेस केन्द्रीय कार्यालयले आफ्नै सहमहामन्त्रीको यस्तो हर्कतबारे बेलैमा उनीसंग स्पष्टिकरण लिएर कारवाही प्रक्रिया अघि बढाउनुपर्ने कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरुको धारणा छ ।



























































