काठमाडौं – नेकपा एमालेले २०८२ साल भदौ २३ र २४ गतेको घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको निर्णय पुनरावलोकन गर्न माग गर्दै आयोगमा औपचारिक निवेदन दर्ता गरेको छ।
एमाले केन्द्रीय सदस्य महेश बर्तौलाले बिहीबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई आयोगको हरिहर भवनस्थित कार्यालयमा भेट गरी पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट निवेदन दर्ता गराएका हुन्।
निवेदनमा आयोगको निर्णय नम्बर १७७ अन्तर्गत गरिएको सिफारिस संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दाबी गर्दै त्यसलाई सच्याउन माग गरिएको छ।
साथै, आयोगले यसअघि माग गरिएका कागजात र प्रतिवेदनहरूको पूर्ण प्रतिलिपि उपलब्ध नगराएको उल्लेख गर्दै, लिली थापाको नेतृत्वमा गठित समितिले आयोगमा बुझाएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि माग गरिएको छ।
निवेदनमार्फत उक्त प्रतिवेदनका कुन कुन अंश आयोगले स्वीकार गरेको, कुन अंश हटाएको वा थप गरेको तथा त्यसका आधार र कारणसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन माग गरिएको छ। साथै, यस विषयमा आयोगबाट थप छानबिन, अनुसन्धान वा अध्ययन भएको भए त्यससँग सम्बन्धित प्रतिवेदन तथा अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपिसमेत उपलब्ध गराउन आग्रह गरिएको एमालेले जनाएको छ।



























































