काठमाडौं- नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सय दिनको अवधिमा जनतालाई खुसी हुने कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।
बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सरकारले जनतालाई राहत र आशा दिनेभन्दा निराश बनाउने काम मात्रै गरेको टिप्पणी गरेका छन्।
उनले देशमा खुसी हुने वातावरण नभएकाले राति अबेरसम्म विश्वकप फुटबल हेर्नु नै धेरैका लागि मनोरञ्जनको विकल्प बनेको बताएका छन्। सरकारको अवस्था ‘भाँडोमा उम्लिएको दूध’ जस्तै भएको टिप्पणी गर्दै ओलीले सरकारको खुट्टा जमिनमा नरहेको, कर्तव्यबोध शून्य रहेको र वास्तविकता नबुझेको आरोप लगाएका छन्।
अध्यक्ष ओलीले प्रधानमन्त्री वा मन्त्रीहरूको आलोचना गर्दा जेल जानुपर्ने अवस्था सिर्जना भएको भन्दै लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताप्रति समेत चिन्ता व्यक्त गरेका छन् । उनले सरकारलाई कति नम्बर दिने भन्ने निर्णय जनता र सञ्चारमाध्यमकै हातमा रहेको बताएका छन्।
एमाले सकिएको भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै ओलीले एमाले देश निर्माण र सफलता हासिल गर्न जन्मिएको पार्टी भएकाले कुनै पनि परिस्थितिमा कमजोर नहुने दाबी गरेका छन्।
कार्यक्रममा अध्यक्ष ओलीले नेकपाका पोलिटब्युरो सदस्य डी।बी। काकीसहित ६ जना केन्द्रीय सदस्यलाई एमालेमा प्रवेश गराएका छन्।



























































