जनकपुर – आफ्ना मागको सुनुवाइ नभएको भन्दै मिटरब्याज पीडितहरूले न्यायको मागसहित जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च सुरु गरेका छन्।
बिहीबार जनकपुरमा नक्कली तमसुक जलाउँदै मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन नेपालको नेतृत्वमा पीडितहरूले राजधानी केन्द्रित पैदल यात्रा सुरु गरेका हुन्।
पीडितहरूले सरकारले आफूहरूसँग पटक–पटक सहमति गरे पनि ती सहमतिको प्रभावकारी कार्यान्वयन नगरेकाले बाध्य भएर पुनः आन्दोलनमा उत्रिनुपरेको बताएका छन्। उनीहरूले न्यायको खोजीमा काठमाडौंसम्म पैदल यात्रा गर्न लागिएको जनाएका छन्।
आन्दोलनरत पक्षले सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल गर्न नसकेको आरोप लगाएको छ।
उनीहरूले नक्कली तमसुक खारेज गर्न, मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी कानुन बनाउन, पीडितहरूको चल–अचल सम्पत्ति फिर्ता गराउन तथा दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
मिटरब्याज पीडितहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनीसमेत दिएका छन्।



























































