काठमाडौं- प्रतिकूल मौसम र निरन्तर वर्षाका बाबजुद पनि MBBS तथा BDS अध्ययनरत विद्यार्थी, इन्टर्न चिकित्सक, वरिष्ठ चिकित्सक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागितासहित न्यायपूर्ण अभियानप्रति ऐक्यबद्धता जनाइएको छ।
आयोजकले प्रतिकूल मौसमको समेत प्रवाह नगरी कार्यक्रममा सहभागी भई अभियानप्रति विश्वास, समर्थन र ऐक्यबद्धता व्यक्त गर्ने सम्पूर्ण सहभागीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। विशेषगरी काठमाडौं उपत्यकाबाहिरबाट सयौँ किलोमिटर यात्रा गरेर समय, श्रम र जिम्मेवारीको पर्वाह नगरी अभियानमा सहभागी हुने सबैप्रति उच्च सम्मान व्यक्त गरिएको छ।
आयोजकका अनुसार सहभागीहरूको उपस्थितिले अभियानलाई अझ सशक्त, जिम्मेवार र ऐतिहासिक बनाएको छ। आन्दोलन सधैं संवाद, संस्थागत प्रक्रिया र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासमार्फत समाधान खोज्ने पक्षमा रहेको पनि स्पष्ट पारिएको छ।
यसैबीच, चिकित्सा शिक्षा आयोगका अध्यक्ष सम्माननीय प्रधानमन्त्री, सह-अध्यक्ष शिक्षा मन्त्री, सह-अध्यक्ष स्वास्थ्य मन्त्री तथा उपाध्यक्ष देवेन्द्र खत्रीसमक्ष कार्यदलको प्रतिवेदनअनुसार यथाशीघ्र औपचारिक निर्णय गरी कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको छ।
साथै, मागको सम्बोधनमा थप ढिलाइ भए देशभरका विश्वविद्यालय, मेडिकल तथा डेन्टल कलेजसँग समन्वय गरी आगामी शनिबारदेखि अझ व्यापक, सशक्त र पूर्ण रूपमा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनका कार्यक्रम सञ्चालन गरिने चेतावनीसमेत दिइएको छ।





























































