काठमाडौं- परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, छिटो र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयले राहदानी प्रणालीमा गरिएको सुधारका कारण सेवा प्रवाह थप व्यवस्थित, नागरिकमैत्री र प्रभावकारी बन्दै गएको दाबी गरेको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले नयाँ राहदानी प्रणाली कार्यान्वयनमा आएसँगै अनलाइनमार्फत आवेदन लिने र राहदानी जारी गर्ने प्रक्रिया नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए।
उनका अनुसार सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई सिफ्टमा सेवा सञ्चालन गरिरहेको छ। साथै, शनिबार र आइतबार बिदाको दिनमा समेत सेवा प्रवाहलाई निरन्तरता दिइएको छ, जसले सेवाग्राहीलाई थप सहजता पुगेको मन्त्रालयको भनाइ छ।
प्रवक्ता पौडेलका अनुसार नयाँ प्रणालीबाट हालसम्म २५ हजारभन्दा बढी राहदानी छापेर वितरण गरिसकिएको छ। सेवा अझ प्रभावकारी बनाउन आवश्यक प्राविधिक तथा प्रशासनिक सुधारका काम पनि निरन्तर अघि बढाइएको उनले बताए।
पत्रकार सम्मेलनमा उनले दक्षिणपूर्वी एसियाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएका अनलाइन स्क्यामिङ सेन्टरमा अलपत्र परेका ८६० नेपाली नागरिकको उद्धार गरिएको जानकारी पनि दिए। उनका अनुसार कम्बोडियामा अनलाइन स्क्यामिङ तथा संगठित अपराधसम्बन्धी अभियोगमा पक्राउ परेका ७६ नेपाली अझै हिरासतमा रहेका छन्, जसमा ३८ जना अनलाइन स्क्यामिङ र ३८ जना संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानको दायरामा छन्।
यसैबीच, पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली आरोहीहरूमध्ये किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा र निमा शेर्पाको शव इस्लामाबाद ल्याइसकिएको प्रवक्ता पौडेलले जानकारी दिए। अन्य एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको शव भने कठिन भौगोलिक अवस्थाका कारण अझै घटनास्थलबाट ल्याउन बाँकी रहेको उनले बताए।
उनका अनुसार शव नेपाल ल्याउने प्रक्रियामा इस्लामाबादस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ। साथै, विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार, कूटनीतिक सहायता र कन्सुलर सेवा थप प्रभावकारी बनाउने कार्यलाई मन्त्रालयले निरन्तर प्राथमिकतामा राखेको जनाएको छ।


























































