कपिलवस्तु -तीन दिनदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत अवस्थामा फेला परेका छन्।


ADVERTISEMENT


६५ वर्षीय सिंहको शव आइतबार गोरुसिंगे क्षेत्रको जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए। उनको खोजीका लागि प्रहरीले शुक्रबारदेखि नै विभिन्न टोली परिचालन गर्दै आएको थियो।


ADVERTISEMENT

# # #


सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगलमा उनले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो।

सिंहको अवस्था पत्ता लगाउन प्रहरीले जंगल क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत झिकाएर परिचालन गरिएको थियो।

शुक्रबार दिउँसो सिंहले आफू जंगलमा बाटो बिराएको भन्दै निकटस्थ व्यक्तिलाई मोबाइलमार्फत जानकारी गराएको बताइएको थियो। त्यसपछि आफन्त, स्थानीय तथा प्रहरी उनको खोजीमा जुटेका थिए।

सिंहको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।