काठमाडौं – संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरीलाई सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरीमाथि छलफल गर्ने समितिको कार्यक्षेत्र नभएकाले आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएको सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।
साथै सूचना मागका सम्बन्धमा मागिएका विषयहरूको जानकारी समितिका तर्फबाट लिखित रूपमा यसअघि नै उपलब्ध गराइसकिएको र थप विवरण आवश्यक परेमा नियमानुसार उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको उहाले बताए ।
उनले कुनै व्यक्ति विशेषले बोलेको कुरा छुट्टै व्यक्तिगत नोट बनाएर दिने वा सिफारिस गर्ने विगतको अभ्यास नरहेको उल्लेख गरे । बैठकका सम्पूर्ण छलफलहरू अडियो रेकर्डका रूपमा सुरक्षित रहने र मिडियामार्फत समेत सार्वजनिक भइसकेकाले जो–कसैले सन्दर्भ सामग्री का रूपमा सुन्न वा हेर्न सक्ने व्यवस्था रहेको उहाको भनाइ छ ।
त्यस्तै समितिले सदस्यहरुका लागि आगामी भाद्र १८ र १९ गते अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।





























































