काठमाडौं – तिब्बततर्फबाट आएको बाढीका कारण सरकारले उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई परिचालन गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी थालेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ। विपद् व्यवस्थापन प्राधिकरणलाई पनि सक्रिय बनाइएको छ।
त्यस्तै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्नसमेत भनिएको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीका कारण रसुवामा नेपाल प्रहरीका तीनवटा कार्यालयमा समेत क्षति पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति भएको छ। क्षतिको विस्तृत विवरण तथा त्यहाँ कार्यरत प्रहरी कर्मचारीको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






























































