काठमाडौं- नेपाली सेनाले रसुवाको बाढी–पहिरोसहित विभिन्न क्षेत्रमा भएका प्राकृतिक विपद्पछि खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको जनाएको छ ।
सेनाका अनुसार प्रभावित क्षेत्रमा पुल निर्माणदेखि हवाई तथा जमिनमार्फत उद्धार, सुरुङभित्र खोजी, घाइतेको उपचार तथा राहत सामग्री ढुवानीको काम निरन्तर भइरहेको छ ।
नुवाकोटको विदुर नगरपालिका–५ स्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमताको एप्रोच ब्रिज ढुवानी गरी पुल निर्माणलाई तीव्रता दिएको छ ।
त्यस्तै, भदौ २१ गते दिउँसो १ बजेसम्म हवाई साधनमार्फत थप ५ जनाको उद्धार गरिएको सेनाले जनाएको छ । हालसम्म हवाई साधनमार्फत ३ हजार ६६७ जनाको उद्धार गरिएकोमा ३ हजार ६९२ जना नेपाली र २७५ जना विदेशी नागरिक रहेको सेनाको विवरण छ ।
रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको खोज तथा उद्धार टोली पावरहाउस तथा कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ । त्रिशूली–३ ए आयोजनाको पावरहाउस तथा सुरुङमा पनि सेनाको ८ जनाको टोलीले रेस्क्यु उपकरणसहित खोज तथा उद्धार कार्य जारी राखेको छ ।
प्रभावित क्षेत्रमा मैलुङदेखि स्याफ्रुबेंसीसम्म सेनाले पैदल गस्तीसमेत सञ्चालन गरी खोज तथा उद्धार गरिरहेको जनाएको छ ।
सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आकस्मिक उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत हालसम्म ३ हजार २९८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको जनाएको छ ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । परिचालित टोलीले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आकस्मिक उपचारलगायतका काम गरिरहेको सेनाले जनाएको छ ।
































































