काठमाडौं-  एनसीएमटी कलेजको आयोजनामा पहिलो पटक सञ्चालन भएको एनसीएमटी कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जाकिपोइन्ट हेल्थले जितेको छ। चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न कर्पोरेट तथा संस्थाबाट २३ टोलीले सहभागिता जनाएका थिए।


ADVERTISEMENT


भदौ १८ देखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी टोलीलाई सात समूहमा विभाजन गरी समूह चरणबाट प्रतिस्पर्धा सुरु गरिएको थियो। पहिलो र दोस्रो दिन समूह चरणका खेल भएका थिए भने तेस्रो दिन बाँकी समूह चरणका खेलसँगै राउन्ड अफ १६ र क्वार्टरफाइनल सम्पन्न भएका थिए।


ADVERTISEMENT

# # #


अन्तिम दिन भएको पहिलो सेमिफाइनलमा नेको इन्स्युरेन्स लिमिटेड ‘बी’ र हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडबीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लागेको थियो। पेनाल्टीमा हिमालयन एभरेस्ट इन्स्योरेन्स विजयी हुँदै फाइनलमा पुगेको थियो।

दोस्रो सेमिफाइनलमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ३–२ गोलले पराजित गर्दै जाकिपोइन्ट हेल्थ फाइनलमा प्रवेश गरेको थियो। तेस्रो स्थानका लागि भएको खेलमा नेको इन्स्युरेन्स लिमिटेड ‘बी’ले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो।

फाइनलमा हिमालयन एभरेस्ट इन्स्योरेन्स र जाकिपोइन्ट हेल्थबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। खेलमा जाकिपोइन्ट हेल्थले ४–३ गोलको जित निकाल्दै प्रतियोगिताको पहिलो च्याम्पियन बन्न सफल भयो। हिमालयन एभरेस्ट इन्स्योरेन्स उपविजेतामा सीमित भयो।

प्रतियोगितामा कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार राशि राखिएको थियो। विजेता जाकिपोइन्ट हेल्थले १ लाख, उपविजेता हिमालयन एभरेस्ट इन्स्योरेन्सले ५० हजार र तेस्रो भएको नेको इन्स्युरेन्स ‘बी’ले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

व्यक्तिगत विधातर्फ हिमालयन एभरेस्ट इन्स्योरेन्सका इराज कार्कीले उत्कृष्ट गोलकिपरको अवार्ड पाए। जाकिपोइन्ट हेल्थका प्रकाश बुढाथोकी सर्वाधिक गोलकर्ता र सोही टोलीका मिलन थापा उत्कृष्ट खेलाडी घोषित भए। फेयर प्ले अवार्ड नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राप्त गर्‍यो।

एनसीएमटी कलेजका अनुसार प्रतियोगिताले विभिन्न कर्पोरेट संस्थाबीच खेलकुद, टिमवर्क, अनुशासन र नेतृत्व क्षमताको विकास तथा प्रोत्साहनमा योगदान पुर्‍याएको छ। प्रतियोगिताको सफल आयोजनाले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने आधार तयार भएको आयोजकले जनाएको छ।