ललितपुर – नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले आसन्न १५औँ महाधिवेशनलाई एकताबद्ध र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न अपिल गर्दै बाढीपहिरो प्रभावितको उद्धार, पुनःस्थापना तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।
प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा भदौ ३० गते बसेको बैठकले विभिन्न निर्णय गर्दै महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनदेखि निर्वाचनका सम्पूर्ण प्रक्रिया उत्साहपूर्वक सहभागी भई सफल बनाउन प्रदेशका १३ वटै जिल्ला कार्यसमिति, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय कार्यसमिति, पालिका, वडा तथा टोल कार्यसमितिमा आबद्ध नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई अपिल गरेको हो।
कांग्रेस बागमती प्रदेशले असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनको प्रक्रिया असोज ३ र ४ गतेदेखि सुरु हुने जनाएको छ। संवाद, सहमति, सहकार्य र एकतालाई मूल मन्त्र मानी महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न सबै तहका नेता–कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ। त्यस्तै, भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति भएको तथा चितवन, गोरखा, तनहुँ र पूर्व–पश्चिम नवलपरासीसमेत प्रभावित भएको भन्दै प्रदेश कार्यसमितिले तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ।
बाढीका कारण हजारौँ नागरिक घरबारविहीन भएको भन्दै प्रभावित परिवारका लागि अस्थायी तथा स्थायी पुनर्वास, खाना, लत्ताकपडा, जीविकोपार्जन तथा मनोपरामर्शको व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग कांग्रेस बागमतीले आग्रह गरेको छ। बाढीबाट बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको खोजी कार्यलाई तीव्रता दिई बेपत्ता व्यक्तिलाई यथाशीघ्र घर फर्कने वातावरण बनाउन तथा विपद्का कारण घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्नसमेत माग गरिएको छ।
यसैबीच, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आगामी १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनलगायत निर्वाचन तयारीका सम्बन्धमा भदौ ३१ गते दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा पत्रकार सम्मेलन आयोजना गरी निर्वाचन तयारी तथा महाधिवेशनसँग सम्बन्धित विषयमा जानकारी दिने जनाएको छ।





































































