खोटाङ – हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण गरिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा निर्माण गरिने ढुङ्गे बगैँचाका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ ।


ADVERTISEMENT


पचास रोपनीभन्दा बढी सार्वजनिक जग्गा रहेको ककनीडाँडालाई प्राकृतिक संरचना ध्वस्त नगरी स्तरोन्नति गरेर ढुङ्गे बगैँचाका रुपमा विकास गर्न लागिएको नगरप्रमुख इवन राईले बताए । “ढुङ्गे बगैँचा निर्माणका लागि सर्वेक्षण सम्पन्न गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ”, उनले भने, “डिपिआरको काम सम्पन्न हुने बित्तिकै बजेट विनियोजन गरेर बगैँचा निर्माणको काम थालिनेछ ।”


ADVERTISEMENT

# # #


धार्मिकस्थल हलेसी मन्दिरको उत्तरी क्षेत्रमा पर्ने ककनीडाँडामा निर्माण गरिने ढुङ्गे बगैँचाभित्र विश्रामस्थल, खानेपानीको धारा, विजुलीबत्ती, शौचालयलगायत निर्माण गरिने नगरप्रमुख राईले बताए । हलेसी आउने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको ढुङ्गे बगैँचा आवतजावत गर्नका लागि पदमार्गसमेत निर्माण गर्नेगरि डिपिआरको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

प्राकृतिक रुपमै रमणीय रहेको ककनीडाँडामा नगरपालिकाले आधुनिक किसिमको ढुङ्गे बगैँचा निर्माण गर्ने भएपछि आसपासका स्थानीयवासीसमेत हर्षित छन् । पानी अभावमा लामो समयदेखि खेती गर्न छाडेर बाँझिएको जग्गा उपयोग हुनेभएपछि आसपासका स्थानीयवासी हर्षित भएका हुन् ।

ककनीडाँडाबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा तथा उच्च हिमाली श्रृङ्खला, तराईका समथर भूभागलगायत रमणीयस्थल अवलोकन गर्न सकिन्छ । विशेषगरि हलेसी आउने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको ढुङ्गे बगैँचामा दृश्यावलोकन गर्ने ठाउँ तथा कफी सप, चमेनागृह, डेटिङ स्पोर्टलगायत अन्य बगैँचामा हुने सबै सुविधा रहने नगरप्रमुख राईले जानकारी दिए ।

हात्तीसुँडे ढुङ्गा तथा विभिन्न आकृतिका प्राकृतिक ढुङ्गाहरु रहेको ककनीडाँडा नेपाल सरकारले १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम ट्रेलको प्रवेशस्थलमा पर्दछ । किराँती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट शुरु भएर रुपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ ।

मध्यपहाडी लोकमार्गले छोएको रमणीयस्थल ककनीडाँडा नजिकै किराँत सभ्यताको उद्गम थलो तुवाचुङ–जायजुम छ । ढुङ्गै÷ढुङ्गाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण गर्न लागिएको ढुङ्गे बगैँचालाई महत्वका साथ हेरिएको छ । जिल्लामै पहिलो पटक ककनीडाँडामा निर्माण गर्न लागिएको ढुङ्गे बगैँचामा ढुङ्गा र फूलबीचको सम्बन्ध रहनेगरि फूलहरु लगाउन वातावरणविद्सँग परामर्शसमेत थालिएको जनाइएको छ । ककनीडाँडामा हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक यसअघि पनि दृष्यावलोकन तथा घुम्न जाने गरेको स्थानीयवासीले बताएका छन् ।

पर्यटकीय नगर हलेसी तुवाचुङ नगरपालिकामा दर्जन बढी पर्यटकीयस्थलहरु रहेका छन् । उक्त पर्यटकीयस्थलहरुको स्तरोन्नति तथा प्रवद्र्धनमा नगरपालिकाले नीति तथा कार्यक्रम नै बनाएर काम गरिरहेको छ । नगरको प्रमुख आम्दानीको स्रोत नै पर्यटकीयस्थल भएकाले स्तरोन्नति तथा प्रवद्र्धनमा लागिएको नगरप्रमुख राईले बताए । एघार वटा वडा रहेको उक्त नगरपालिकाको वडा नम्बर–७ महादेवस्थानमा त्रिधार्मिकस्थ हलेसी पर्दछ ।

धार्मिक मान्यताले मात्रै नभइ प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा अहिले बाह्रै महिना मेला लाग्ने गरेको छ । ठूल्ठूला चट्टानको बीच भागमा रहेको हलेसी गुफाभित्र बिराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठीक पछाडिपट्टी उस्तै ठूलो बसाहा गुफा छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । रासस