दुनै, डोल्पा– डोल्पालीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बाको बढ्दो दोहनले जैविक विविधता लोप हुँदै गइरहेको एक अनुसन्धानबाट खुलेको छ ।

यार्सागुम्बाको वार्षिक दोहनले गर्दा निम्त्याएको असरको अध्ययन गर्न यहाँ स्थापित संस्था युथ फर नेचर डोल्पाले यार्सागुम्बाको अव्यवस्थित संकलनले डोल्पालीलाई आर्थिक लाभभन्दा पर्यावरणमा दीर्घकालीन असर पारेको रहस्य खुलेको हो । अनुसन्धानबाट यार्सागुम्बाको बढ्दो खोजले पर्यावरणसँगसँगै यार्सागुम्बाकै अस्तित्वसमेत खतरामा रहेको पाइएको छ ।


ADVERTISEMENT


# # #


अनुसन्धानका क्रममा हरेक वर्ष यार्सागुम्बाकोे परिमाणात्मक तथा गुणात्मक हिसाबमा समेत ह्रास हुँदै आएको पाइएको छ । प्रत्येक वर्ष यार्सागुम्बा टिपेर मनग्य आम्दानी गर्नका लागि डोल्पाका उच्च हिमाली भेगतिर डोल्पा, रुकुम, जाजरकोट, जुम्लालगायत दर्जनौँ जिल्लाबाट बीसौँ हजार सर्वसाधारण पुग्ने गर्छन् ।

प्रत्येक यार्सागुम्बा याममा लावालस्कर लागेर पाटन पुग्ने सर्वसाधारणको अव्यवस्थित बसोबासका साथै मनपरीले जैविक विविधतामा ह्रास आइरहेको दि युनिभर्सिटी अफ जर्जियामा प्रकृतिको एकीकृत संरक्षण विषयमा विद्यावारिधि गरिरहेका अनुसन्धानकर्ता सुरज उपाध्यायले बताए ।

हिमाली क्षेत्रमा दाउरा तथा पानीको अभावले खाना पकाउन समस्या हुने र खाना पकाउन लाग्दा यार्सागुम्बा टिप्ने समय बर्बाद हुने भएकाले छिटोछरितोका लागि चाउचाउ, बिस्कुट, दालमोठलगायत सुख्खा खाना बोकेर लैजाने गरिन्छ । अनुसन्धानकर्ता उपाध्यायका अनुसार यसरी लगिएको पोका बनाइएको खानाका पोका जथाभावी फाल्ने, फोहर धेरै गर्ने र जहाँ पायो त्यही खाल्डा खन्ने गर्नाले वातावरण प्रदूषण भइरहेको छ, यार्सा संकलकसँगै बन्दोबस्तीका सामग्री बोकाएर लगेका घोडा खच्चरको दिसापिसाबले समेत पर्यावरणमा असर परेको छ ।

यार्सागुम्बा संकलनका लागि गएका हजारौँ मानिसले प्रयोग गरेका प्लास्टिकका झोला, चाउचाउका खोल, शिशा तथा प्लास्टिकका बोतलले त्यहाँको सौन्दर्य मात्र नभई वातावरणमै ठूलो असर परेकोे पाइएको उपाध्यायको भनाइ छ । “हरेक वर्ष जस्तो संकलनमा आइरहेको कमी अनि संकलन पछाडिको प्राकृतिक सामाजिक असर हाम्रा नजरले देख्न सकिरहेको छैन, अझ भन्नु पर्दा हाम्रो दिमागमा यार्सागुम्बाको दोहनले निम्ताएका असर सोच्न नसक्दा पर्यावरणमा ठूलो असर परिरहेको छ”, उपाध्यायले भने ।

चोरी शिकार बढ्दै

यार्सागुम्बा पाउने क्षेत्र नाजुक उच्च हिमाली पारिस्थितीय प्रणालीमा पर्छ, जहाँ संकटापन्न र दुर्लभ वन्यजन्तु हिउँ चितुवा, तिब्बतीयन ब्वाँसो, नाउर, झारल, घोरल आदि बसोबास गर्छन्, यार्सागुम्बा टिप्ने परिपाटीकै कारण यस्ता संकटापन्न दुर्लभ वन्यजन्तुको लोप हुनाका साथै चोरी शिकारसमेत भइरहेका छन् ।

“अव्यवस्थित यार्चाकुम्भु संकलन र वर्षेनी त्यस क्षेत्रमा बढ्ने हजारौँ मानिसको चापले गर्दा यी र यस्ता दुर्लभ वन्यजन्तु र यिनको वासस्थानमा समेत धेरै असर परेको छ”, उनले थपे।

अनुसन्धानकै क्रममा जहाँ जहाँ यार्सागुम्बा पाइन्छ त्यस क्षेत्र र त्यसको वरिपरि अत्यधिक मात्रामा चोरी शिकारसमेत बढेको पाइएको छ । यार्सागुम्बा संकलनकर्ताले आफ्नो आहार तथा जनावरका विभिन्न अंगप्रत्यंग बिक्रीवितरणका लागि कस्तुरी, घोरल, नाउर र हिउँ चितुवाको शिकारसमेत हुने गरेको पाइएको हो ।

सरोकारभएकाहरु मौन

यस्ता यावत् समस्या वर्षेनी रुपमा बढ्दै गइरहँदा पनि सरोकारवाला निकाय मौन बस्नाले भोलिका दिनमा डोल्पाका प्राकृतिक स्रोत र वातावरणमा प्रत्यक्ष रुपमा ठूलो समस्या पर्ने अनुसन्धानकर्ता उपाध्यायले चिन्ता व्यक्त गरे ।

यस क्षेत्रमा पाइने दुर्लभ जडीबुटी, वन्यजन्तु तथा पर्यावरण आफैँमा जटिल र नाजुक भएका कारण यसको दिगो संरक्षणका तथा व्यवस्थापनका लागि सम्पूर्ण सरोकार भएकाहरुले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

पर्यावरण सँगसँगै यार्सागुम्बाको समेत अस्तित्व जोगाउने हो भने यार्सा संकलनकर्तामा पनि विभिन्न सञ्चारमाध्यमबाट जागरण ल्याउनाका साथै ऐननियमको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लामा यार्सागुम्बा पाइने ३०० भन्दा धेरै (पाटन)सम्म क्षेत्र छन् । अधिकांश यार्सा पाटन निकुञ्ज क्षेत्रमा पर्छन् । रामचन्द्र न्यौपाने/रासस

प्रतिकृया

प्रतिकृया