पोखरा – पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा विगत वर्षदेखि हुँदै आएको आलु महोत्सव यस वर्ष नहुने भएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड– १९ का कारण यस वर्ष हेम्जामा आलु महोत्सव नहुने आयोजक क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए।


ADVERTISEMENT


“हामीले तयारी गरेका थियौँ तर कोभिड– १९ को प्रभाव बढिरहेकाले स्वस्थ्य सर्तकतालाई ध्यान दिएर यो वर्ष महोत्सव स्थगन गर्ने निर्णयमा पुग्यौँ”, श्रेष्ठले भने । विगत १० वर्षदेखि हेम्जामा विष्णुपादुका क्लबले आलु महोत्सव गर्दै आइरहेको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दै क्लबका सल्लाहकारसहितको बैठकले उक्त निर्णय गरेको उनले जानकारी दिए । विसं २०६६ देखि हुँदै आएको उक्त महोत्सवको पहिलो संस्करण स्थानीय बहुद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालीन हेम्जा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लबले गर्दै आएको थियो ।


ADVERTISEMENT

# # #


आयोजकका अनुसार १० दिनसम्म चल्दै आएको उक्त महोत्सवमा कृषकले ३८ देखि ४० मेट्रिक टन आलु बिक्री गर्दै आएका थिए भने करिब एक लाख दर्शकले मेलामा अवलोकन गर्दै आएका थिए । कृषकसँग समन्वय गरेर मेलासम्म आलु ल्याएर बिक्री वितरणको व्यवस्थापन गर्दै आएका संयोजक जयराम तिमिल्सिनाले यस वर्ष फागुनको पहिलो साताबाटै व्यापारीले कृषकको घरघर पुगेर आलु सबै खरिद गरिसकेको बताए।

“सधैँ आलु महोत्सव कुरेर बस्ने कृषक यस वर्ष कोभिड–१९ का कारण महोत्सव हुने-नहुनेमा पहिले नै आशङ्का थियो, व्यापारीले बारीबाटै आलु खरिद गरिसकेका छन्”, तिमिल्सिनाले भने । व्यापारीले रु ३० देखि रु ३२ प्रतिकिलोमा आलु खरिद गरेका र यस वर्ष हेम्जामा करिब ४५ मेट्रिक टन आलु उत्पादन भएको छ भने गत वर्ष ५० मेट्रिक टन आलु उत्पादन भएको उनको भनाइ छ ।