काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच ‘भिडियो कन्फेरेन्स’मार्फत छलफल भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयस्थित ‘एक्सन रुम’ बाट मुख्यमन्त्रीसँग चार घण्टा लामो छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । उनका अनुसार छलफलमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री ओलीलाई आ-आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरूको स्थिति जानकारी गराएका थिए ।


ADVERTISEMENT

# # #


त्यसक्रममा प्रधानमन्त्रीले यसबीचमा भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताए। उनले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पार्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेकोले अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन आग्रह गरे ।

उनले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको कुरामा जोड दिएको प्रेस सल्लाहकार थापाले बताए । प्रधानमन्त्रीलाई उद्धृत गर्दै थापाले भने, ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न पनि हुँदैन ।’

सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकार स्वयंले अथोरिटीका साथ काम गरेकोले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगनुहोस् ।’ उनले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारिरीक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए ।

लकडाउनमा मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने र त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने समेत उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरेको प्रेस सल्लाहकार थापाले जनाए ।

(तस्बिरहरु : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबाट)