काठमाडौँ – प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको बताएको छ ।


ADVERTISEMENT


पार्टी कार्यालयमा बुधबार राती बसेको कांगैस कार्यसमितको बैठकले सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागि परेकाले शासन गर्ने आधार गुमाएको टिप्पणी गरेको हो ।


ADVERTISEMENT

# # #


‘सरकार कोरोनाको महामारीको जोखिमपूर्ण र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापन गर्नुको साटो यस संवेदनशील समयलाई लोकतान्त्रिक भावना विरोधी कार्य गर्ने अवसरका रुपमा प्रयोग गरिरहेको छ ।’ कांग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारका क्रियाकलापले नेपाली जनताले विगतको निर्वाचन मार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको छ । तसर्थ नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ ।’

यस्तै कांग्रेसले एकपछि अर्को गरी भ्रष्टाचारका कार्यहरु भइरहेको उल्लेख गर्दै मुलुक कोभिड १९ को गम्भीर जोखिममा रहेका बेला मेडिकल सामाग्री खरीदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण विषय रहेको बताएका छ ।

पछिल्लो समयमा विवादास्पद दुई वटा अध्यादेश जारी गर्नु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भई सांसदलाई अपहरण गर्ने जस्तो कुकृत्य गर्नु, त्यस्ता कार्यको छानविन अनुसन्धान गर्न माग गर्दा जाहेरी सम्म दर्ता गर्न इन्कार गर्नु, सरकारको वदनियत पुष्टि गर्ने घटना भएको कांग्रेसको ठहर छ । सरकार संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता लगायत मौलिक हक अधिकारको खिल्ली उडाउँदै निरंकुशता तर्फ अग्रसर भएको कांगैसले दबी गरेको छ ।

यस्तै बैठकले सरकारको अलोकतान्त्रिक निर्णय विरुद्ध सबै दलहरु र नागरिक समाजसँग सहकार्य गरी आवश्यकता अनुरुप संघर्ष साथ अगाडि बढ्ने निर्णय गरेको छ ।  सांसद डा. सुरेन्द्र यादव अपहरण घटनालाई नेपाली कांग्रेसले गम्भीर एवं अक्षम्य घटनाका रुपमा लिएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न र्काग्रेसले माग गरेको छ ।