चितवन – कुखुराका चल्ला बिक्न थालेका छन् । लकडाउन केही खुकुलो भएसँगै कृषकले खोरमा कुखुराका चल्ला राख्न थालेका हुन् । पछिल्लो समय दानाको कच्चा पदार्थको मूल्यमा पनि भारी गिरावट आएको छ । यससँगै दाना उद्योगहरुले दानाको मूल्य घटाउन थालेका छन् । जिउँदो कुखुराको मूल्य पनि बढेपछि कृषकले चल्ला राख्ने क्रम बढेको हो ।


ADVERTISEMENT


नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार गत आइतबार उत्पादन भएका सबै चल्ला बिकेका छन् । सामान्यतया ह्याचरीले आइतबार र बुधबार चल्ला निकाल्ने गर्दछन् । पोखरेलका अनुसार आइतबार रु २५ हाराहारीमा ब्रोइलर, रु ८० मा लेयर्स र रु ५० मा कलर ब्रोइलर चल्ला बिकेका थिए । ब्रोइलर चल्लाको माग बढ्दै गएकाले यो साताको बुधबार ह्याचरी उद्योगले ब्रोइलर चल्लाको रु ३५ हाराहारी मूल्य पाउने अनुमान व्यवसायीको रहेको छ ।


ADVERTISEMENT

# # #


अहिले सातामा ब्रोइलर चल्ला २५ देखि ३० लाख, लेयर्स एक लाख ३० हजार र कलर ब्रोइलर दुई लाख हाराहारी उत्पादन हुँदै आएको छ । लकडाउनअघि ब्रोइलर चल्ला ३५ लाख उत्पादन हुने गरेको थियो । हाल जिउँदो कुखुराको मूल्य रु २०० देखि २१० मा बिक्री हुन थालेको छ । यो मूल्य लागत मूल्यभन्दा माथिको मूल्य हो । यसलाई कृषकले राम्रो मूल्यको रुपमा लिने गर्दछन् ।

कुखुरापालक कृषक एवं व्यवसायीहरुको छाता संस्था नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्षसमेत रहनुभएका पोखरेल लकडाउनसँगै दैनिक चल्लामा रु तीन करोड ४५ लाख ७० हजार नोक्सान बेहोर्नुपरेको बताउँछन् । ४८ दिनसम्म चल्ला पुर्नुपर्दा रु एक अर्ब ६५ करोड ९३ लाख ६० हजार हाराहारी प्रत्यक्ष नोक्सानी भएको उनको भनाइ छ । अप्रत्यक्षरूपमा यसको प्रभाव दीर्घकालीनरूपमा पर्ने देखिन्छ ।

देशभरमा ३२४ ह्याचरी उद्योग रहेका छन् । ह्याचरीमा प्यारेन्ट नेपालसँगै थाइल्याण्ड, मलेशिया, फिलीपिन्स, अमेरिका, बेलायत, भारतलगायतका देशबाट ल्याउने गरिन्छ । ब्रोइलर चल्लाको लागत मूल्य रु ५७.४५, कलर ब्रोइलरको रु ४० र लेयर्सको रु ९५ पर्ने पोखरेल बताउँछन् । नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब लगानी भएको व्यवसायी बताउँछन् । जसमध्ये ह्याचरीमा मात्र रु २० अर्बभन्दा बढी लगानी भएको पोखरेलको अनुमान छ ।

रु १२ छुट दिँदा १० हजार जरिवाना

पूर्वी चितवनको रत्ननगरमा रहेको एक पुस्तक पसलले ग्राहकलाई रु १२ छुट दिँदा रु १० हजार जरिवाना तिर्नुपर्ने भएको छ । जरिवानामा परेपछि सो पुस्तक पसललाई होलसेल बिक्रेताले किताबसमेत बिक्रीका लागि दिन छाडेका छन् ।

रत्ननगर नगरपालिका–२ मा रहेको नेपाल माध्यामिक बिद्यालय अगाडिको न्यू गोर्खाली पुस्तक पसलले कलम बिक्री गर्दा रु १२ छुट दिएकै कारण रु १० हजार जरिवानामा परेको हो । पसलका सञ्चालक नारायण रेग्मीले एक विद्यार्थीलाई प्रयोगात्मक पुस्तक र कलमको रु ५१२ भएकामा रु ५०० मात्र लिएकाले आफू कारवाहीमा परेको बताए। उनले भने, “लकडाउनको समयमा जरिवाना रकमको चेक दिँदासमेत नमानेर मलाई पुस्तक बेच्न दिइएन ।” एउटा बच्चाले आफूसँग रकम नभएको भनी आग्रह गरेपछि कलममा रु १२ छुट गरेको स्वीकार गर्दै उहाँले आफूमाथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ चितवन शाखाले अन्याय गरेको बताए ।

जिल्ला प्रशासन कार्यालयमा गत हप्ता उजुरी गरेको भए पनि सुनुवाइ नभएको उनको भनाइ छ । यही अभियोगमा गत वर्ष पनि संस्थाले आफूलाई रु ११ हजार २०० जरिवाना लगाएर असुल गरेको उनले बताए ।

व्यवसायीले छुट गर्दा सिन्डिकेट लगाउन नमिल्ने हुँदा सम्बन्धित पक्षलाई कारवाही गर्नुपर्ने रेग्मीले माग गरे । यता महासङ्घ चितवन शाखाका अध्यक्ष राजेन्द्र तिवारीले अस्वस्थ प्रतिस्पर्धा नगर्न भनिएको भए पनि कारवाही र पुस्तक नदिन पत्राचार नगरिएको दाबी गरे । उनले महासङ्घले बिक्री गर्ने नभएर व्यवसायीले पुस्तक बिक्री गर्ने भएकाले उनीहरुसँग नै समन्वय गरेर पुस्तक ल्याउनुपर्ने बताए । जिल्लामा ३७५ पुस्तक पसल महासङ्घमा दर्ता छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले रेग्मीको उजुरीका सम्बन्धमा कारवाही प्रक्रिया अघि बढाइएको जानकारी दिए। रासस