रिपेश दाहाल, हेटौँडा – प्रदेश दुई हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका भोलिदेखि बन्द गरिने भएको छ । प्रदेशसँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण फैलिएपछि मकवानपुरको कमाण्ड पोष्टले चुरियामाई हुँदै हेटौँडा आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


देशमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि र छिमेकी जिल्लाहरुमा समेत कोरोनाको सङ्क्रमण फैलिएपछि मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अग्रसरतामा सरोकारवालाहरुको विशेष बैठक बसेको थियो । बैठकपछि जिल्ला कमाण्ड पोष्टमार्फत लकडाउनलाई समेत कडा बनाउने निर्णय भएको प्रमुख खुलालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कमाण्ड पोष्टको आजको बैठकले अन्य जिल्लाबाट मकवानपुर प्रवेश गर्ने नाकाहरुमा समेत कडाइ गर्ने निर्णय गरेको छ । बैठकले खाद्यान्न तथा ग्यास पसल बिहान ९ बजेसम्म, औषधि तथा भेटेरिनरी एवं मलबीउ जस्ता कृषि पसललाई दिनभरि खोल्न दिने निर्णय गरेको छ । बैठकले जेठ १ गतेबाट भने माछामासु तथा तरकारी बजार पूर्णरुपमा बन्द गर्ने, बैैंकलाई भीडभाड नहुने गरी बिहान १० देखि ३ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ ।

त्यस्तै हेटौँडाको चुरेक्षेत्रको वनजङ्गलबाट समेत तराईका जिल्लाबाट मानिसहरु आउने गरेको पाइएकाले उनीहरुलाई रोक्नका लागि त्यस क्षेत्रका वडा अध्यक्ष र स्थानीय समेतको समिति बनाएर नियन्त्रणको काम गर्ने निर्णय भएको बैठकमा सहभागी हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए। हेटौँडामा कोरोना भाइरस भित्रन नदिनका लागि धेरै खालका उपाय अपनाउन लागिएको उनले बताए ।