काठमाडौँ – सरकारले भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूमि समेटिएको नेपालको नक्सा सार्वजनिक गर्ने घोषणा गरेको छ । ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत छुटेका भूमि समेटिएको नेपालको नक्सा जारी गर्दै ती भूभाग फिर्ता ल्याउनका लागि ठोस कुटनीतिक पहल गर्ने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


‘लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने छ ।’ राष्ट्रपति भण्डारीले भनिन्, ‘तदनुरुप नै छुटेका भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

नेपालको अन्तरर्राष्ट्रिय सीमाको सुरक्षा एवम् संरक्षण गर्न सरकार प्रतिवद्ध रहेका भन्दै उनले अन्तरर्राष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता दिइने बताइन् । ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कुटनीतिक माध्यामबाट भारतसँगका सीमा सम्बन्धमा लामो समयदेखि बाँकी रहेका र समय समयमा उठिरहेका विषयको समाधान गरिने उनले बताइन् ।

भारतले चीनको भार्मिक स्थल मानसरोवर जोड्नेगरी नेपालको कालापानी क्षेत्रको भूभागमा सडक निर्माण गरेर उद्घाटन गरेपछि पछिल्लो समय नेपालमा त्यसको तीव्र विरोध भइरहेको छ । सरकारले भारतको उक्त कदमको विरोध गर्दै भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर कुटनीतिक नोट पनि बुझाएको थियो ।

प्रधानमन्त्री ओलीले गत बुधबार कालापानी विवाद र नेपाली भूभाग फिर्ता ल्याउनका लागि आवश्यक छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए ।