कञ्चनपुर– कञ्चनपुरको नेपाल– भारत सीमा महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुल निर्माणका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन् ।


ADVERTISEMENT


शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले अब पश्चिमबाट समेत नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका छन् ।
‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ,’ प्रधानमन्त्रीले भने, ‘यो पश्चिम नेपाल मात्र नभइ देशकै समृद्धिका लागि महत्वपूर्ण विकास परियोजना हो ।’


ADVERTISEMENT

# # #


भारतका औद्योगिक सहरसँग सिधा सम्पर्क र सुख्खा वन्दरगाह विकासका लागि यो पुल कोसेढुंगा सावित हुने भन्दै प्रधानमन्त्रीले भने, ‘लामो समयको प्रतीक्षा सकिएको छ अव सुदूरपश्चिमवाट विकास अभियान सुरु भएको छ ।’

उनले भर्खरै सम्पन्न आफ्नो भारत भ्रमणका बिषयमा ‘दुई देशबीचको सम्वन्ध निकै ठूलो उचाइमा पुर्‍याएको बताउँदै प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा सुदूरपश्चिममा ठूलो प्राविधिक शिक्षालय स्थापना हुने, गौरीफण्टा नाकाको स्तर उन्नती गरिने लगायतका बिषयहरुमा महत्वपूर्ण सहमति भएको पनि उनले जानकारी दिए ।

सरकारले पुल निर्माणका लागि चालु आवमा रु ९९ करोड ६५ लाख रकम विनियोजन गरेको छ जसमध्ये रु १० करोड रकम पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ । रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि ३ वर्ष तोकिएको छ ।

पुल निर्माणस्थल ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म चार लेनको सात किलोमिटर सडकसमेत निर्माण हुनेछ भने पुल छेउछाउमा मजबुत तटबन्धसमेत निर्माण गरिनेछ । पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले पनि निर्माणका लागि आवश्यक सुरुवाती काम थालिसकेको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार कञ्चनपुरको महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यास गर्दैै । तस्बिर : रासस