काठमाडौँ – प्रतिनिधिसभाबाट दोस्रो संविधान संशोधन विधेयक दुई तिहाई बहुमतले पारित भएको छ ।


ADVERTISEMENT


भारतीय अतिक्रमणमा रहेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको मतदानपश्चात विधेयक दुई तिहाई बहुमतले पारित भएको हो ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभामा कुल सांसद २७५ मध्ये सभामुखबाहेक आज २५८ जना सांसद उपस्थित रहेका थिए । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७’ लाई पारित गरियोस्’ भन्ने प्रस्तावको पक्षमा २५८ मत परेको छ । उपस्थित शत प्रतिशत सांसदले विधेयकको पक्षमा मत हालेपछि सभामुख अग्नि प्रसाद सापकोटाले विधेयक दुई तिहाई बढी मतले पारित भएको घोषणा गरेका हुन् । संविधानको धारा २७४ को उपधारा ८ अनुसार संविधान संशोधन गर्न कम्तीमा दुई तिहाई मत आवश्यक पर्छ ।

यसअघि आजै विधेयकमाथि दफवार छलफल भएको थियो । विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो । जुन विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो ।

प्रतिनिधिसभाबाट पारित भएसँगै अब यो विधेयक राष्ट्रिय सभामा जानेछ । त्यहाँ पनि पारित भए विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिनेछ । राष्ट्रपतिले पेश भएको विधेयक प्राप्त भएको १५ दिन भित्र प्रमाणीकरण गर्नेछिन् र प्रमाणीकरण भएको मिति देखि संविधानमा रहेको निशान छाप संशोधन हुनेछ ।