काठमाडौ – महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी अधिकृत तथा जवानहरुको लागि संयुक्त मेस भवन उद्घाटन गरिएको छ ।


ADVERTISEMENT


आइतबार एक कार्यक्रमका बीच महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उक्त भवनको उद्घाटन गरेका हुन् । उद्घाटनपश्चात प्रहरी नायव महानिरीक्षक पोखरेलले विशेष परिस्थितीमा पनि उच्च जोखिममा रहेर अहोरात्र सडकमा खटिरहेका ट्राफिक प्रहरीको उच्च प्रशंसा गर्नुहुदै आगामी दिनमा पनि यसरी नै आफ्नो जिम्मेवारीलाई वहन गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


उनले ट्राफिक प्रहरी नेपाल सरकारको आईकन भएकोले आफ्नो कमिकमजोरी र गलत व्यवहारहरू परिवर्तन गरी कसैको अगाडी शिर नझुकाई निश्पक्ष भई काम गरेर असल राष्ट्रसेवक बन्न निर्देशन दिए । सुधारिएको मेस भवनबाट गुणस्तरीय खाना उपलब्ध हुदाँ २४ सै घण्टा खटिने ट्राफिक प्रहरीको मनोवल थप उच्च हुने र जनतालाई दिने सेवा प्रवाहमा अझ बढी स्तरियता र प्रभावकारीता हुने उनको विश्वास थियो ।

यस्तै ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले धन्यवाद ज्ञापन गर्दै तालुक कार्यालयबाट भएका नीति निर्देशनलाई अक्षरशः पालना गर्दै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त दुरुस्त बनाउन दत्तचित्त भएर लाग्ने प्रतिबद्दवद्धता गरे ।

उक्त भवन रु. १३ लाख ५१ हजार ८०९ मा सम्पन्न भएको हो ।

हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाईनबाटै दिने व्यवस्था

सोही अवसरमा हराएको, चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि निवेदन र सिफारिस अनलाइनबाटै दिन सकिने गरी ‘सफ्टवयेर सञ्चालनमा ल्याइएको छ ।

ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउदै सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोरोनाको प्रभावलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा हराएको वा चोरी भएको सवारी साधनको विवेदन अनलाईनबाटै दिने व्यवस्थाको शुरुवात आजैबाट महाशाखाले गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको वा चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि सफ्टवेयर सञ्चालनमा ल्याएको बताए । अनलाईन सेवा सुरु भएसँगै निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको छ र सेवाग्राहीले घरैबाट निवेदन दिन सकिने र सवारी साधन फेला परेको जानकारी लिन सकिने बताए ।