मलेसियालाई १० विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।


ADVERTISEMENT


शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियालार्इ फराकिलो अन्तरमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। फाइनलमा स्थान बनाएसँगै नेपाल यू–१९ एसिया कपमा छनोटसमेत भएको छ।


ADVERTISEMENT

# # #


मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा बिना विकेटको क्षतिमा पार गर्‍यो।

नेपालको जितमा ओपनरद्वय सन्दीप सुनार नटआउट ५१ र मोहमद आसिफ शेखले नटआउट ५० रन जोडे। सन्दीपले ७७ बल खेलेर ८ चौका हिर्काए भने आशिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

यसअघि पहिले ब्याटिङ गरेको मलेसिया ४२ ओभर खेल्दै १२१ रनमा अलआउट भएको थियो।

मलेसियालाई सामान्य योगफलमा समेट्न नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिए। यस्तै पवन शर्राफले २ विकेट लिए। रोहित पौडेल, सन्दीप लामिछाने र सहाब अलामले पनि १-१ विकेट लिए। मलेसियाका लागि डे सिल्भाले सर्वाधिक ३९ रन बनाए भने विरनदिप सिंहले २५ रनको योगदान गरे।

मलेसियाको स्कोर १५ रन हुँदा नेपालले पहिलो विकेट लिन सफल भयो। मलेसियाका ओपनर अजिज मुवारकलाई रोहितकुमार पौडेलले ब्यक्तिगत पाँच रनमा पेभेलियनको बाटो देखाए। ६४ रन हुँदासम्म मात्र दुई विकेट गुमाएको मलेसियाले त्यसपछि ७७ रन हुँदा चार विकेट खेर फाल्यो। एकपछि अर्को विकेट गुमाएउँदै गएको मलेसियाले ९४ रन बनाउँदा महत्वपुर्ण ६ विकेट गुमाइसक्यो। त्यसपछि एक सय १५ रन हुँदा मलेसियाको आठौं विकेट झर्यो ।

नेपाली बलरसामु कमजोर देखिएको मलेसिया अन्ततः ४२ ओभरमा एक सय २१ रनमा अलआउट भयो।

नेपालले पछिल्लो तीन महिनामा मलेसियाको युवा टोलीलार्इ पराजित गरेको तेस्रो पटक हो।

तीन महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र मलेसिया दुई पटक भिडेका थिए। दुवै खेलमा नेपालले मलेसियलाई समान ५–५ विकेटले हराएको थियो।