काठमाडौ,
१९-असोज / नेकपा एमाले–नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको भोलिपल्टैबाट माओवादी केन्द्रभित्र आन्तरिक विवादले उग्र रूप लिएको छ। माओवादी केन्द्रभित्र नेतृत्वले पार्टीभित्र पर्याप्त छलफल नै नगरी एमालेसँग चुनावी तालमेल र पार्टी एकताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको भन्दै केही नेताले सार्वजनिकरूपमै असन्तुष्टि व्यक्त गरेका छन्।


ADVERTISEMENT


नेकपा माओवादी केन्द्रभित्र पार्टी अध्यक्ष गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना शुरू भएको छ। चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिप्रति नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापाले प्रचण्डलाई साथ दिएका छन्। तर नेता गोपाल किराँती, मणि थापा र मातृका यादवसहितका केही नेताले पार्टीको निर्णयप्रति फरक मत राख्दै आएका छन्। थापा र यादवले फरम मतसहित चुनावी तालमेल र पार्टी एकता गर्ने विषयमा सहमति जनाए पनि गोपाल किराँतीले भने नेकपा माओवादी केन्द्र पुनर्गठन गर्नेसम्मको चेतावनी दिनुभएको छ। नेपाल समाचार पत्र दैनिकमा खबर छ ।


ADVERTISEMENT

# # #


किराँतीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डलाई ‘श्रीप्रचण्ड’को संज्ञा दिँदै माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्रीप्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पुनर्गठन भेला आयोजक समिति निर्माणको आह्वान गर्नुभएको छ।

पार्टीको कुनै पनि तहमा औपचारिक निर्णय नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्रीप्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिकसमेत रहेको उल्लेख गर्दै किराँतीले त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादीका क्रान्तिकारी नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभएको छ। उहाँले सम्भव भएसम्म लडाकू दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरि भाटे कारबाहीको तयारी गर्न क्रान्तिकारी युवालाई विज्ञप्तिमार्फत आह्वान गर्नुभएको छ।

माओवादीभित्र अहिले चुनावी तालमेल मात्र भएको र पार्टी एकतासम्म पुग्दा लामो बहस आवश्यक रहेको विषयमा पनि बहस शुरू भएको छ। ६ बुँदे सहमतिप्रति असन्तुष्ट नेता मातृका यादवले पार्टी एकताको शृङ्खलासम्म पुग्दा लामै बहस र छलफल आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘एमाले संघीयता र पहिचान विरोधी हो, यदि पहिचान र संघीयतालाई स्वीकार गरेको अवस्थामा मेरो असन्तुष्टि छैन, कम्युनिस्ट पार्टी एउटै मात्र भएको राम्रो हो।’

माओवादीभित्र एमालेले सहमति गरेर धोका दिन सक्ने भन्दै नेतृत्वलाई चनाखो बन्नका लागि पनि कार्यकर्ताहरूले दबाब दिएका छन्। तीन दलबीच भएको ६ बुँदे सहमति, चुनावी तालमेलसँगै पार्टी एकताको बारेमा जानकारी गराउन माओवादी केन्द्रले असोज २१ गते पोलिटब्युरोको बैठक बोलाएको नेता यादवले बताउनुभयो। ६ बुँदे सहमति संघ र प्रदेशसभाको निर्वाचनमा अनुसार एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत लिने सहमति भएको छ। सोहीअनुसार कुन नेता कहाँबाट उठ्ने भन्ने विषयमा एमाले र माओवादीभित्र आन्तरिक गृहकार्य शुरू भएको छ।