(खोजी समाचार)
कैलाली– एक किशोरी अहिले १७ वर्षकी भइन् । उनी अहिले १२ कक्षामा पढ्छिन् । आठ कक्षामा अध्ययनरत रहँदा उनले नराम्रो छुवाइको पीडा भोगिन् । उनलाई पढाउने आफ्नै शिक्षकको व्यवहारले उनको मस्तिष्कसंगै पढाइमा समेत गहिरो असर पर्‍यो ।


ADVERTISEMENT


चौध वर्षमा शिक्षकको दुव्र्यवहार खेपेकी उनले नौ कक्षा पढ्दा शिक्षकको व्यवहारकै कारण विद्यालय बदल्नुपर्याे । पढाइमा उत्कृष्ट उनलाई पढाउने शिक्षकले कहिले पिठ्युँमा धाप मार्ने, कहिले गाला चिमोट्ने, कहिले आँखाको इशारा गर्ने गर्थे । बालिकालाई शिक्षकको व्यवहार अनौँठो लाथ्यो । शिक्षकको व्यवहारले पीडा महशुस हुन थालेपछि उनलाई विद्यालय जान मन लाग्न पनि छाड्यो र पढाइ पनि बिग्रियो ।


ADVERTISEMENT

# # #


सधैँ कक्षामा प्रथम वा द्वितीय आउने उनी अर्धवार्षिक परीक्षामा दशौैँ स्थानमा पुगिन् । उनी विद्यालयमा शिक्षकको गलत व्यवहार र घरमा अभिभावकको गाली सहन वाध्य भइन् । ‘बाबा आमाले छोरी ठूली भई, बिग्रन थाली भन्न थाल्नुभयो । मेरो बानीमा आएको परिवर्तन देखेर मलाई गलत ठान्न थाल्नुभयो; यथार्थको पोको खोल्दै उनी बोल्दै गइन्; ‘ओहो सम्झँदा पनि पीडा हुन्छ । म त निदाउन पनि नसक्ने भएँ । मलाई रातदिन तनावले पिरोल्थ्यो ।’

छोरीको व्यवहारमा परिवर्तन आएपछि एक दिन किशोरीकी आमाले छोरीलाई एक्लै राखेर सोधिन् । किशोरीले आमासँग विद्यालयमा भोगिरहेको घटना सबै बेलीविस्तारमा सुनाइन् । आमाछोरीले शिक्षकलाई भेटेर त्यस्तो व्यवहार नदोहोर्याउन आग्रह पनि गरे । यसपछि शिक्षकले माफी पनि मागेका थिए । त्यसबेला उनले माया गरेर त्यसो गरेको बताए । अब त्यस्तो व्यवहार नगर्ने भनेपछि किशोरी खुशी भएर विद्यालय जान थालिन् । तर, अफसोच शिक्षकले व्यवहार सुधारेनन् ।

उनले चार/पाँच दिनपछि थप हिंसा गर्न थाले । गलत छुवाइको पीडामा किशोरीको एक वर्ष बित्यो । उनले राम्रो नतिजा ल्याउन सकिनन् । ‘अर्को वर्ष आमाले बाबालाई भनेर मेरो विद्यालय बदल्नुभयो । म अर्को विद्यालय पढ्न थालेँ । अहिले म पढाइमा राम्रो छु; लामो सास तान्दै किशोरीले थपिन्; ‘त्यो बेला विद्यालय नबदेलेको भए मेरो जीवन बर्बाद हुने थियो । आमालाई आफ्नो पीडा नभनेको भए म मानसिक रोगी हुन्थेँ होला ।’

अहिले उनी पढाइमा राम्रो छिन् । त्यो समय विद्यालय नबदलेको भए उनको पढाइ बिग्रिन्थ्यो र जीवन दुःखदायी हुन्थ्योजस्तो उनलाई अझैपनि लाग्छ । अभिभावकलाई समयमै जानकारी गराएर उनी थप हिंसा हुनबाट त जोगिइन्, तर उनले भोगेको व्यवहार भने अझैपनि भुलेकी छैनन् ।

त्यस्तै, कक्षा ७ मा अध्ययनरत अर्की किशोरी छिमेकीको घरमा ट्युसन पढ्न जान्थिन् । छिमेकमा रहेका दाइ नाता पर्ने उनका आफन्तले धेरै बालबालिका जम्मा गरेर ट्युसन पढाउँथे । किशोरी पनि स्कूलबाट फर्केपछि एक घण्टा उनको घर पढ्न जान्थिन् । धेरै विद्यार्थीका बीचमा पनि उनले हिंसा सहन्थिन् ।

दाइ नाता पर्ने उनले उनको गाला चिमोट्थे, तिम्रो गाला रातो भाछ भन्थे, नाक तान्थे । किशोरीलाई त्यो व्यवहार मन पर्दैनथ्यो । ‘मलाई उनले छुँदा नरमाइलो लाग्थ्यो । म डरले काप्थेँ, पसिना आउँथ्यो; उनी भन्छिन्, ‘आमाले पढ्न पढाउनुहुन्थ्यो, म तनाव झेलेर फर्कन्थेँ ।’

आफन्तको व्यवहार मन नपरेपछि किशोरी उनको घर जान छाडिन् । उनले आमालाई घरमै राम्रो पढ्न सक्ने बताइन् । ‘मैले त्यतिबेला यस्तो कुरा भनेमा इज्जत जान्छ भन्ने सोँचे; सानोमा दिमागमा छाप परेको कुविचार सम्झदैँ उनी भन्छिन्, ‘अहिलेजस्तो बुझ्ने भएको भए घरमा सबैलाई भन्थेँ जस्तो लाग्छ । अहिले त, त्यस्तो व्यवहार गर्नेलाई कारवाही हुनुपर्छ भन्ने बुझेकी छु ।’

गलत छुवाइ बाल यौन हिंसाको शुरुआतको चरण हो । छुवाइलाई मानिसले सामान्य रुपमा लिन्छन् । माया गरेको भनेर गरिने यस्ता व्यवहारले बाल मस्तिष्कमा गलत असर पर्न जान्छ । यस विषयमा बोल्दै टीकापुर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाह भन्छिन्; ‘बाल यौन हिंसा न्यूनीकरणका लागि यसरी बालबालिकालाई माया गरेको बहानामा छुने कार्य गलत हो ।’

बालबालिका तथा विशेषगरी किशोरी माथि हुने हिंसा न्यूनीकरणका लागि बालबालिका मात्र नभई अभिभावक तथा शिक्षक शिक्षिका समेत सचेत रहन आवश्यक रहेका उनले बताइन् ।

शाह पिडित बालबालिकाका अभिभावकले उनीहरु माथि भइरहेको गलत व्यवहार वा हिंसा खुलाउने खालको वातावरण तयार गर्नुपर्ने बताउछिन् । ‘नानीबाबु गलत व्यवहार भोगिरहेका हुन्छन् । अभिभावकले सहजरुपमा लिदैनन्, कि भनेर कुरा लुकाउँछन् । जसले उनीहरु गलत बाटोमा लाग्न सक्छ ।’ उनले भनिन् ।

यस्तै, अधिकारकर्मी कल्पना उपाध्याय पनि यस्ता हिंसा छोरीले बढी सहनुपर्ने भएकाले छोरीलाई यौन हिंसा, दुव्र्यवहार सहनु हुन्न भन्ने ज्ञान पहिल्यै दिन आवश्यक रहेको बताउँछिन् ।

यसका लागि विद्यालयमा हुने हिंसा रोक्न शिक्षकलाई पनि तालीम आवश्यक रहेकोप्रति उनले जोड दिइन् । ‘बालबालिकालाई माया गरेको बहानामा उनीहरुको शरीर हुने, गलत तरिकाले हेर्न पाइँदैन’ उपाध्याय भन्छिन्; ‘हरेक छोरीलाई आत्मरक्षा तालीम आवश्यक छ । छोरीहरु जहाँ, जतिखेर पनि समस्यामा पर्न सक्छन्, भनी उनीहरुलाई आफ्नो सुरक्षा आफैँ गर्न तयार गर्नुपर्छ ।’

यसैगरि, शिक्षिका माया साउद शिक्षकले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गर्न आवश्यक रहेको बताउँछिन् । ‘हरेक बालबालिकाको भावनाको ख्याल गरिनुपर्ने बताउँदै उनले भनिन्; ‘ बालबालिका तनावमा हुनसक्छ । उनीहरु घरबाट पनि तनाव बोकेर विद्यालय आएका हुनसक्छन् । त्यसैले, विद्यालय त बालबालिकाका लागि रुचि जाग्ने थलोका रुपमा विकास हुनुपर्छ ।’ घर र विद्यालयमै हिंसा भएमा उनीहरुको सिकाइमा असर पर्ने उनको राय छ ।

बालबालिकाले भोग्ने यस्ता घटना प्रहरीसम्म निकै कम पुग्छन् । सामान्य व्यवहार हो भन्दै माफी दिने वा त्यस्तो व्यवहार गर्ने व्यक्तिबाट टाढिने गरिन्छ । प्रहरी कहाँ बलात्कार प्रयास वा बलात्कारका घटना भएमात्र उजुरी गर्ने गरिन्छ । इलाका प्रहरी कार्यालय टीकापुरमा आर्थिक वर्ष २०७६/७७ मा जबर्जस्ती करणीका नौ, जबर्जस्ती करणी उद्योगका पाँच मुद्दा दर्ता भएका थिए ।

आव २०७७/७८ को हालसम्म जबर्जस्ती करणीका चार र जबरजस्ती करणी उद्योगतर्फ एक मुद्दा दर्ता भएका छन् । प्रहरी निरीक्षक अरुण बमका अनुसार, गलत छुवाई सहनुपर्याे भनेरै उजुरी आउनेकको संख्या कम छ । गलत छुवाइ अपराध हो भनी हामीले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम गको भन्दै उनले अघि बोले; ‘घर, समाज वा विद्यालयमा साथी, आफन्त, शिक्षक जसले पनि गलत व्यवहार गरेमा नसहन सचेत गराइरहेका छौँ ।

उनका अनुसार, कार्यक्रममा हरेक विद्यालयमा बाल हिंसा, बालबालिकामाथि हुने दुव्र्यवहारबारे जानकारी दिइन्छ । रासस