काठमाडौँ– ‘बौद्ध दर्शन र सञ्चार’ विषयमा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधिप्राप्त डा बालकृष्ण चापागाईँले सञ्चारका विश्वव्यापी चार सिद्धान्तमा शान्ति सिद्धान्तलाई पाँचौँ सिद्धान्तका रुपमा समावेश गरिनुपर्ने आफ्नो अध्ययनको निष्कर्ष प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा आज आयोजित उक्त शोधका सन्दर्भमा आयोजित परिचर्चा कार्यक्रममा राससका पूर्वअध्यक्ष डा. चापागाईँले मानवतावादी र समानतावादी सोच र दर्शनका धनी गौतम बुद्धले आफ्नो ज्ञानलाई अन्तरमुखी, अन्तरवैयत्तिक र समूह सञ्चार अवाधारणानुसार विश्वव्यापी फैल्याउन सफल भएकाले उनको शान्ति दर्शनलाई सञ्चार सिद्धान्तमा समिावेश गर्न आवश्यक रहेको तर्क प्रस्तुत गरेको हो ।


ADVERTISEMENT

# # #


सञ्चारमा अधिनायकतावादी, उदारवादी, सामाजिक उत्तरदायित्ववादी र साम्यवादी सिद्धान्त स्थापित छन् । उनले राससजस्तो जिम्मेवार संस्थाले सञ्चारबाट शान्ति सन्देश दिन सक्नुपर्ने जनाए । प्रेस चौतारी नेपालका पूर्वाध्यक्ष डा. चापागाईँले करीब आठ वर्षको समय लगाएर गरेको उक्त शोध अध्ययनलाई विश्वविद्यालयले गत फागुन १९ गते स्वीकृति दिएको थियो ।

विद्यावारिधि हासिल गरेकामा बधाई दिँदै राससका अध्यक्ष श्यामल अधिकारीले बुद्धको सबैभन्दा बढी आकर्षण हुने सवाल विनयशीलता र प्रेम भएकाले यस्तो सन्देश दिने व्यक्तित्वका बारेमा सञ्चार अध्ययन गरिनाले सञ्चार क्षेत्रमा योगदान पुगेको बताए। उनले बौद्धका कुनै पनि भिक्षु अनुयायीले रिस व्यक्त नगरेको बताउँदै सञ्चारकर्मीलाई पनि आफ्ना व्यवहारलाई विनयी बनाउन सुझाव दिएका छन्।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले शान्ति स्थापना र समृद्ध मुलुक निर्माणका लागि बुद्धका सन्देश उपयोगी भएकाले यस विषयमा शोधअध्ययन गर्नुभएकामा डा. चापागाईँलाई बधाई दिँदै शान्ति पत्रकारितालाई अघि बढाउनुपर्ने उल्लेख गरे ।

सो अवसरमा राससका कार्यकारी व्यवस्थापक उत्तम सिल्वाल, आलेख संयोजक एकराज पाठक, कार्यकारी सम्पादक कृष्ण अधिकारी, मदन गौतमलगायतले बौद्धदर्शनबारे जिज्ञासा राख्दै अधिवक्तासमेत रहेकाका वरिष्ठ पत्रकार डा. चापागाईंलाई बधाई दिएका थिए। रासस