काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले स्थायी कमिटीमा हेरफेर गरी तत्कालका लागि १९ जनालाई स्थायी कमिटी सदस्य कायम गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीविरोधी गतिविधिमा संलग्न थप नेतालाई सोधिएको स्पष्टीकरण र प्राप्त जवाफबारे पनि बैठकमा छलफल भएको थियो । प्रतिनिधिसभामा रहेका २७ नेतामाथि सोधिएको स्पष्टीकरणबारे अध्ययन गरी निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि निलम्बन गरिएका नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायतलाई स्थायी कमिटीको सूचीबाट हटाइएको तथा नेकपा(माओवादी केन्द्र)बाट प्रवेश गरेका रामबहादुर थापालगायतलाई समावेश गरिएको छ । समानान्तर गतिविधिमा रहेका नेताहरु फर्किएमा जिम्मेवारी दिइने भएको छ ।

बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन गरेको छ । अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि प्राप्त सुझाव ग्रहण गरी एकीकृतरुप दिइएको छ । बैठकले समसामयिक विषयमा ११ बुँदे प्रस्ताव पारित गरेको छ । ती प्रस्तावमा पार्टीमा समानान्तर गतिविधि रोकेर पार्टी एकताको मूल प्रवाहमा फर्कन आग्रह गर्दै जनप्रतिनिधिलाई उम्मेदारी दिने पार्टी र आफूलाई मत दिने जनताको सम्मान गर्न आग्रह गरेको छ ।

मूल प्रवाहमा फर्कने नेता –कार्यकर्तालाई सम्मानका साथ उचित जिम्मेवारी दिइने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले पार्टी एकता र आन्दोलनको रक्षाका लागि वार्ता र सहमतिको पहल भइरहेकाले थप नेतालाई कडा कारबाही गर्नु नपरोस् भन्ने आफूहरुको चाहना रहेको स्पष्ट गरे । अध्यक्ष ओली र नेता नेपालसँगको पछिल्लो वार्ताबारे सोधिएका प्रश्नमा नेता ज्ञवालीले अध्यक्षका तर्फबाट पहल जारी रहेको र अर्का पक्षबाट पनि त्यस्तै सकारात्मक र एकताको पहलको अपेक्षा गरिएको बताए।

बैठकले कोभिड¬–१९ को रोकथाममा जुट्न सबैमा तथा उपनिर्वाचनको तयारीका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरेको छ । यस्तै सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको सहमतिलाई स्वागत गर्दै शान्ति र विकासतर्फको यात्रा आरम्भका लागि नेपाल सरकारलाई धन्यवाद दिइएको छ ।